Friday, June 28, 2019

भारतका पूर्वोत्तर राज्यसँग नेपालको आर्थिक साझेदारी

गान्तोक (सिक्किम)-नेपाल तथा भारतका पूर्वोत्तर राज्यबीच आर्थिक साझेदारी बढाउने संस्थागत प्रयास सुरु भएको छ । भारतका पूर्वोत्तर राज्यसँग नेपालको साझेदारी बढाउने सम्बन्धमा शुक्रबार आयोजित कार्यक्रममा दुवै मुलुकका विज्ञहरूले लगानीकर्ताबीच एकआपसमा विभिन्न तहमा सहकार्य गर्नुपर्ने धारणा राखेका छन् । उनीहरूले वस्तुको ओसारपसार तथा मानिसको सहज आवागमनका लागि हाल रहेका व्यवधानहरू हटाउन पहल गर्नुपर्ने एवं एक आपसमा नयाँ लगानीका अवसरहरू खोज्नुपर्ने धारणा राखे । शुक्रबार भारतको सिक्किम राज्यमा आयोजित गोष्ठीको उद्घाटन गर्दै सिक्किमका मुुख्यमन्त्री प्रेमसिंह तामाङले विस्तृत क्षेत्रीय साथै उपक्षेत्रीय आर्थिक सहयोग र सहकार्यका निम्ति संयुक्त पहलका अवसरहरूबारे आफ्नो भावी दृष्टिको विस्तृत जानकारी गराएका छन् । यसैगरी, भारतका लागि नेपाली राजदूत निलम्बर आचार्यले पर्यटन, कृषि एवं खाद्य प्रशोधन, ऊर्जा, पूर्वाधार, स्वास्थ्य स्याहार, शिक्षा, कौशल विकास तथा स्टार्टअप र सेवालगायतका क्षेत्रमा ‘पूर्वी सम्पर्क’को सक्रिय अनि उत्कृष्ट पहलमार्फत् विकासको अपेक्षित लक्ष्य हासिल गर्न भारत र नेपालबीच साझेदारीलाई अझ व्यापकता दिनसक्ने जनाए । लगानीका अवसरहरू खोज गर्दै भारतको पूर्वोत्तर राज्यहरू तथा नेपालको आर्थिक विकासमा सहभागी बन्न पीएचडीसीसीआईअन्तर्गत भारत नेपाल केन्द्र (आईएनसी) र राज्य विकास परिषद् (एसडीसी)द्वारा नेपाली राजदूतावास नयाँदिल्लीको सहयोगमा ‘भारत नेपाल आर्थिक साझेदारी शिखर सम्मेलन’ आयोजना भएको हो । सम्मेलनमा विभिन्न वक्ताहरूले पर्यटन, कृषि एवं खाद्य प्रशोधन, ऊर्जा, पूर्वाधार, स्वास्थ्य स्याहार, शिक्षा, कौशल विकास तथा स्टार्टअप र सेवा क्षेत्र लगायतका क्षेत्रमा ‘पूर्वी सम्पर्क’को सक्रिय अनि उत्कृष्ट पहलमार्फत् नेपालको आर्थिक विकासको अपेक्षित लक्ष्य हासिल गर्न भारत र नेपालबीच साझेदारीमाथि केन्द्रित हुनुपर्ने जनाए । यस क्षेत्रको नीति निर्णयमा महत्वपूर्ण प्रभाव राख्ने नीति निर्माताहरूको सक्रिय अन्तक्र्रियामा उनीहरूले लगानी तथा व्यापारका लागि बृहत् अनि प्रामाणिक सम्भावनाहरूबारे अवगत गराउँदै सिक्किम र नेपालबीच दुईतर्फी लगानीको अवसरको खाका पनि प्रस्तुत गरिएको थियो । उक्त अवसरमा सिक्किमका मुख्यसचिव आलोक श्रीवास्तले व्यापारका निम्ति सहायक अनि प्रगतिशील रहेको सिक्किमको विकासीय रूपरेखाको जानकारी दिए । अतिरिक्त सचिव तथा उद्योग एवं वाणिज्य विभागका सचिव थोमस चाण्डीले नेपाली उद्यमीहरूलाई स्वागत गर्दै विशेषगरी पर्यटन र जैविक खेतीको क्षेत्रमा सहकार्यको नयाँ अध्याय सुरु गर्न आह्वान गरे । जवाहरलाल नेहरू विश्वविद्यालयका प्रोफेसर तथा विघटिछ ईपीजी सदस्य प्रो. महेन्द्र पी. लामाले सिक्किम र नेपालबीच आर्थिक सहकार्य विस्तारको निम्ति महत्वपूर्ण ऐतिहासिक साथै समकालीन तथ्यहरूबारे प्रकाश पारे । नेपाल एसबीआई बैंकका सीईओ अनुकुल भटनागरले लगानीको निम्ति नेपालमा उपलब्ध वित्तीय सुविधाहरूबारे अवगत गराए । उनले नेपालमा लगानीको प्रशस्त सम्भावना रहेको भन्दै लगानीको लागि आह्वान पनि गरे । 
यसैगरी, कारोबार राष्ट्रिय आर्थिक दैनिक मिडिया पार्टनर रहेको उक्त गोष्ठीमा पीएचडीसीसीआई अन्तर्गतको भारत नेपाल केन्द्रका अध्यक्ष तथा नेपालको निम्ति भारतका पूर्वराजदूत केभी राजनले आर्थिक सहकार्यलाई गति प्रदान गर्न भारत र नेपालबीच सामाजिक सांस्कृतिक सद्भावलाई संस्थागत बनाउनुपर्ने आवश्यकतामाथि जोड दिए ।पूर्वराजदूत केभी राजनद्वारा अध्यक्षता गरिएको सम्मेलनको पहिलो प्राविधिक सत्रमा ‘नेपालमा औद्योगिक प्रवर्तनः द्विदेशीय कारोबार नीतिको पुनरावलोकन तथा उपक्षेत्रीय सहकार्यको विस्तार’ सत्रमा सीमा क्षेत्र विकास तथा बीबीआईएनमाथि छलफल भएको थियो । उक्त सत्रमा नेपाल राजदूतावासका आर्थिक सहचारी तीर्थ पौडेल, सिक्किमका पूर्व लोकसभा सांसद पीडी राई, सूचना एवं जनसम्पर्क विभागका सचिव श्रीमती शेराब सेंगा, आईसीएफएआई विश्वविद्यालय, सिक्किमका उपकुलपति डा. जगन्नाथ पटनायक, केन्द्रीय कृषि विश्वविद्यालयका उपकुलपति डा. पीपी डब्राल, सिक्किम विश्वविद्यालयका डीन त्रिलोक देवान, आन्ध्र प्रदेशका पूर्व मुख्यसचिव, जीटीएका सल्लाहकार एवं पूर्व प्रधान सचिव, दार्जीलिङका पूर्वविधायक, सिक्किम सरकारका पर्यटन सल्लाहकार राज बसुले सहभागिता जनाएका थिए । यसैगरी, ‘नीतिगत सुधार तथा नेपालमा कारोबार गर्न सहजता, नेपालमा क्षेत्रगत सम्भावनाः नेपाल तथा पूर्वोत्तरमा (सिक्किमको विशेष सन्दर्भमा) औद्योगिक विकासको निम्ति निवेशको प्रवाहीकरण’ विषयक दोस्रो सत्रको समन्वय भारत नेपाल केन्द्रका उपसचिव एवं समन्वयकर्ता अतुलकुमार ठाकुरले गरेका थिए । उक्त सत्रमा इन्टरस्टेट मल्टीमोडल ट्रान्सपोर्ट (प्रा.) लि अन्तर्गत फ्लिट लजिस्टिकका कार्यकारी निर्देशक विकास रौनियार, अन्तर्राष्ट्रिय कारोबार विशेषज्ञ डा. पानु पाजो, पूर्वाधारका सल्लाहकार कर्णल मणि गहतराज, शिक्षाविद् गायत्री राई, कृषि तथा खाद्य परिशोधन उद्यमी अभिमन्यु ढकालले नेपाल तथा उत्तर भारतीय राज्यको बीचमा कसरी लगानी तथा उद्यमशीलता विकास गर्ने भन्ने बारेमा छलफल गरेका थिए । यस्तै, कारोबार राष्ट्रिय आर्थिक दैनिकका सम्पादक कुबेर चालिसेले सम्मेलनको समापन गर्दै नेपाल भारत सीमामा संयुक्त विशेष आर्थिक क्षेत्र स्थापना गर्नुपर्ने तथा सीमामा व्यवस्थित हाटबजारको स्थापनाले दुुवै देशका लगानीकर्ताा तथा कृषकहरू लाभान्वित हुने बताए ।

No comments: