Monday, September 5, 2022

दसैंलाई नयाँ नोट २९ भदौदेखि

यसपटक २९ भदौदेखि सर्वसाधारणले दसैंलगायत चाडपर्वका लागि नयाँ नोट साट्न पाउने नेपाल राष्ट्र बैंंकले जनाएको छ । विशेषतः दसैंमा नयाँ नोटको प्रचलन रहेका कारण पनि हरेक वर्षझैं यसपटक पनि राष्ट्र बैंंकले सर्वसाधारणलाई काठमाडौं उपत्यकामा २९ भदौ र उपत्यकाबाहिर २ असोजदेखि नयाँ नोट साट्न सक्ने व्यवस्था गरेको हो । 

२६ भदौदेखि बैंक तथा वित्तीय संस्थाहरूले नयाँ नोट पाउने अनि सर्वसाधारणले उपत्यकामा २९ भदौ तथा उपत्यका बाहिर २ असोजबाट नयाँ नोट सटही गर्न सक्ने राष्ट्र बैंंकले जनाएको छ । 

सर्वसाधारणले प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँ बराबर नयाँ नोट सटही सुविधा पाउने छन् । जसमा ५, १०, २०, ५० र १०० रुपैयाँसम्मका नोट एक÷एक वटा बन्डल हुने गरी १८ हजार ५०० रुपैयाँको सीमा गत वर्ष पनि तोकिएको थियो ।

नेपाल राष्ट्र बैंकको बालुवाटारस्थित केन्द्रीय कार्यालय र प्रादेशिक कार्यालयका साथै बैंक तथा वित्तीय संस्थाहरुका विभिन्न शाखा कार्यालयमा गएर पनि नयाँ नोट साट्न सकिन्छ । राष्ट्र बैंकसँग साना दरका १० अर्बभन्दा बढी नयाँ नोट मौज्दात रहेको छ । गत वर्ष ८ अर्बको नयाँ नोट सटही भएको भए पनि यस वर्ष डिजिटल पेमेन्टको प्रवृत्ति बढेका कारण कम माग हुने राष्ट्र बैंंकको अनुमान छ ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले गत साता अर्थ समितिमा बोल्दै पेमेन्टसँग सम्बन्धित कुरामा डिजिटल कारोबारको कोभिड अगाडि र पछाडि आकाश–जमिनको फरक रहको बताएका थिए । उनका अनुसार कोभिड अगाडि क्युआर पेमेन्ट भन्ने नेपालमा तथ्यांक नै थिएन, टेक्नोलोजीमात्रै आएको थियो । तर, गत असार एक महिनामा मात्र ४२ लाख वटा कारोबार क्युआरबाट मात्रै भएको छ, जसमा १५ अर्बको कारोबार भएको छ । यसका साथै कनेक्ट आईपीएस, आईपीएस डिजिटल पेमेन्ट, वालेट माध्यमहरुको प्रयोग व्यापक रहेको पनि उनको भनाइ थियो । यसका साथै नेपालले डिजिटल कारोबारमा ठूलो फड्को मारेको भन्दै उनले विश्वमा यति छिटो डिजिटल कारोबारमा यति ठूलो परिर्वतन नभएको बताएका थिए । “तर, यसभित्र विभिन्न किसिमका जोखिमहरु छन्,” उनले भने, “विदेशमा कार्डमार्फत पेमेन्ट गर्ने विषयमा समन्वय नभएको हुनसक्छ । कार्डमा भएको पैसामा विदेशमा पेमेन्ट गर्न सीमा छैन ।”

No comments: