Wednesday, September 21, 2022

आर्थिक वृद्धिमा संकुचन आउने प्रक्षेपण

यसअघि आफैंले गरेको अनुमानलाई घटाएर एसियाली विकास बैंक (एडीबी)ले चालू आर्थिक वर्ष २०७९-०८० मा नेपालको आर्थिक वृद्धिदर ४.७ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको छ । यसअघि एडीबीले अप्रिलमा नेपालले ५ प्रतिशतको आर्थिक वृद्धिदर प्राप्त गर्ने प्रक्षेपण गरेको थियो ।

गत आर्थिक वर्षमा ५.८ प्रतिशत रहेको आर्थिक वृद्धिदरमा चालू आर्थिक वर्षमा केही संकुचन आउने अनुमान गर्दै एडीबीले सरकारले हाल लिएका नीतिका कारण अर्थतन्त्रमा संकुचन आउने विश्लेषण गरेको हो । 

हाल विदेशी मुद्रा सञ्चितीमा दबाब परेको भन्दै सरकारले आयातमा प्रतिबन्ध लगाएको छ । तर, एडीबीका अनुसार आयातमा अंकुश लगाउँदा अर्थतन्त्रको विस्तारमा नकारात्मक असर पुग्नेछ ।

सरकारले चालू आर्थिक वर्षमा ८ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य राखेको छ । तर, एडीबीले बुधबार एसियन डेभलपमेन्ट आउटलुक २०२२ सार्वजनिक गर्दै अर्थतन्त्रमा संकुचन आउने प्रक्ष्ोपण गरेको हो ।

सार्वजनिक प्रतिवदेनमा सन् २०२४ मा नेपालको वैदेशिक मुद्राको सञ्चितीमा अझ गिरावट आउने र मुद्रास्फितीमा थप दबाब पर्ने समेत जनाइएको छ । आयात नियन्त्रणका लागि सरकारले अपनाउने औजारहरुका कारण अर्थतन्त्रको वृद्धि खुम्चिने जोखिम बढ्ने पनि प्रतिवदेनको निष्कर्ष छ । आयात नियन्त्रणसँगै आन्तरिक उत्पादन र उपभोगसमेत घट्ने जोखिमतर्फ इंगित गर्दै एडीबीले यस्ता गतिविधिले चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिलाई नकारात्मक प्रभाव पार्ने जनाएको छ ।

साथै, कडा मौद्रिक नीतिका कारण नेपालको कुल गार्हस्थ्य उत्पादन प्रभावित हुने भन्दै निर्यातमा जोड दिनुपर्ने पनि प्रतिवेदनले उल्लेख गरेको छ । प्रतिवेदन सार्वजनिक गर्दै नेपालका लागि एडीबीका कन्ट्री डाइरेक्टर आनो कुस्वाले कोभिड–१९ महामारीपछिको लकडाउन, डेंगु ज्वरोको प्रकोपलगायतले नेपालको स्वास्थ्य प्रणालीलाई कमजोर बनाइदिएको बताए । साथै, विभिन्न प्राकृतिक प्रकोपहरुबाट समेत जोखिम ब्येहोर्नु परिरहेको नेपालको भूराजनीतिक अवस्थाले पनि आर्थिक वृद्धिलाई कमजोर बनाउने उनको भनाइ छ ।

एडीबीका अनुसार सामान्य मनसुनका कारण कृषिको वृद्धिदर राम्रो हुने सम्भावना छ । तर, मलको अभावले धानको उत्पादनमा प्रतिकूल असर पर्ने अनुमान पनि एडीबीले गरेको छ । जलविद्युतको बढ्दो उत्पादन र उद्योगको क्षमता उपयोगमा वृद्धि हुने अनुमान गर्दै एडीबीले व्याजदरमा भएको वृद्धिले रियल इस्टेट, थोक तथा खुद्रा व्यापार प्रभावित हुने जनाएको छ ।

आउँदो निर्वाचनले खर्च बढाउने र अर्थतन्त्रको वृद्धिमा समेत सकारात्मक प्रभाव पर्ने अनुमान गर्दै एडीबीले चालू आवको बजेट कृषि, उद्योग, पूर्वाधार र सामाजिक सुरक्षाका क्षेत्रमा केन्द्रित रहेको भए पनि मुद्रास्फीति केही संकुचन हुन सक्ने प्रक्षेपण गरेको छ । गत आर्थिक वर्षमा ६.३ प्रतिशत रहेको मुद्रास्फीति चालू आवमा ६.१ मा सीमित हुने अनुमान पनि एडीबीले गरेको छ ।

यसैगरी, दक्षिण एसियामा श्रीलंकाको अर्थतन्त्रको विस्तार नकारात्मक रहने तर अन्य मुलुकको अर्थतन्त्रको विस्तार सकारात्मक रहने आकलन प्रतिवेदनको छ । श्रीलंकाको अर्थतन्त्र ३.३ प्रतिशतले नकारात्मक वृद्धि हुने, पाकिस्तानको ३.५ प्रतिशत सकारात्मक विस्तार देखिने, भुटानको ४ प्रतिशत र नेपालको ४.७ प्रतिशत विस्तार हुने अनुमान एडीबीको छ । यसका साथै बंगलादेशको ६.६ प्रतिशत, भारतको ७.२ प्रतिशत र माल्दिभ्सको सबैभन्दा धेरै १०.४ प्रतिशत अर्थतन्त्र विस्तारको प्रक्षेपण एडीबीले गरेको छ । 

No comments: