Saturday, September 10, 2022

चीनको अघोषित नाकाबन्दीले व्यवसायी मर्कामा

चिनियाँ नाकामा अड्किएका अर्बौंका सामान छुटाउन राज्यका तर्फबाट पहल नभएको भन्दै नेपाल राष्ट्रिय व्यवसायी महासंघले आपत्ति जनाएको छ । उद्योगी–व्यवसायीहरुका समस्या समाधान गर्न चासो नदेखाएको भन्दै महासंघले शनिबार विज्ञप्ति जारी गर्दै सरकारको ध्यानाकर्षण गराएको हो ।  

नेपालीहरुको ठूलो चाड दसैं नजिएको तर दसैंमा बेच्नुपर्ने सामान नाकामै रोकिँदा अर्बौंका सामान सडेर बिग्रने अवस्थामा पुगेको महासंघका अध्यक्ष कुमार कार्कीले बताएका छन् । “उत्तरी नाकामा भइरहेको अघोषित नाकाबन्दीको प्रत्यक्ष मार भने व्यवसायीले भोग्नु परेको छ,” अध्यक्ष कार्कीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “सयांै मालवाहक कन्टेनरहरु नाकामा थन्किएर बस्दा चाडपर्व केन्द्रित अर्बौंका सामान सडिने, कुहिने र बिग्रने भई नोक्सान भएको छ भने बजारमा सामानको हाहाकार देखिन्छ ।” 

महासंघले यी समस्याहरु तत्काल समाधान गर्न पहल गरिदिन पनि अनुरोध गरेको छ । धेरै उद्योगी–व्यवसायीहरु बैंकको ब्याजदर तिर्न समेत नसक्ने अवस्थामा पुगेको महासंघले बताएको छ । बैंकले दिएको मानसिक तनावका कारण कतिपय उद्योगी–व्यवसायीहरुले आत्महत्याको बाटो रोज्न बाध्य भएको भन्दै महासंघले यसतर्फ गम्भीर बन्न समेत सरकारलाई अनुरोध गरेको छ । “व्यापार व्यवसाय गर्न सामान नाकामा थन्किएको, बैंकले ऋण चुक्ता गर्न बारम्बार ताकेता गर्दै सम्पत्ति लिलाम तथा जफत गर्ने धम्की दिन्दै मानसिक तनाव दिइरहेको अवस्था छ,” विज्ञप्तिमा भनिएको छ, “यावत् समस्याले गर्दा व्यवसायीहरु मानसिक सन्तुलन गुमाएर आत्महत्या गर्नुपरेको उदाहरणहरु छन् ।”

बैंकको ब्याजदर अत्यधिक बढेको भन्दै बैंकको ब्याजदर नियन्त्रण गर्न समेत महासंघले नेपाल राष्ट्र बैंक समक्ष अनुरोध गरेको छ । देशको अर्थतन्त्रमा सबैभन्दा महत्वपूर्ण क्षेत्र उद्योग व्यवसाय भए पनि राज्यको राजस्व असुलीको मूल क्षेत्र दिनानुदिन धरायसी बन्दै गएको छ । देशमा उद्योगी तथा व्यवसायीमैत्री वातावरण नहुनुका कारण अर्बौं लगानी गरी उद्योग–व्यवसाय सञ्चालन गर्दै आइरहेका उद्योगी–व्यवसायीहरु पलायनतर्फ उन्मुख भइरहेको प्रष्ट देखिएको नेपाल राष्ट्रिय व्यवसायी महासंघले जनाएको छ ।  कागजमा मात्रै व्यवसायमैत्री नीतिनियम हुने र कार्यान्वयन भने अति नै फितलो हुनु नै अहिलेको मुख्य समस्या देखिएको उसको भनाइ छ । 

महासंघका अनुसार व्यवसायीहरुले आफ्नो सम्पूर्ण जायजेथा बैंकलाई बुझाएर ऋण गरी उद्योग व्यापार सञ्चालन गरेका छन् । तर, विभिन्न प्राकृतिक प्रकोप र कोरोना महामारीका कारण व्यापार–व्यवसायले गति लिन नसक्दा बैंक ब्याज तथा घरभाडा समेत तिर्न नसकेको अवस्था रहेका भन्दै महासंघले फितलो राज्य संयन्त्रका कारण उत्तरी नाकामा भइरहेको अघोषित नाकाबन्दीको प्रत्यक्ष मार भने व्यवसायीले भोग्नुपरेको जनाएको छ ।

No comments: