Sunday, September 4, 2022

नयाँ स्टक एक्सचेन्जको लागि बाटो खुल्यो, ६ गुणा चुक्ता पुँजी बढाएर नियमावली संशोधन

चुनावको मुखैमा आएर नेपाल धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेन्ज ल्याउन सहज बनाएको छ । बोर्डको हालै बसेको सञ्चालक समिति बैठकले धितोपत्र बजार सञ्चालन नियमावली, २०६४ संशोधन गर्दै चुक्ता पुँजी तीन अर्बसहित नयाँ स्टक एक्सचेन्ज खोल्ने बाटो खोलेको हो । धितोपत्र बजार सञ्चालन नियमावली, २०६४ को पहिलो संशोधन २०६७ अनुसार धितोपत्र बजार सञ्चालक (स्टक एकचेन्ज)को न्यूनतम चुक्ता पुँजी ५ करोड भए पुग्ने व्यवस्था थियो ।

बोर्ड अध्यक्ष रमेशकुमार हमालले नियमावली संशोधन गरेर अर्थ मन्त्रालय पठाइएको बताउँदै हाल पाँच करोडमात्रै भएको चुक्ता पुँजी ३ अर्ब पु¥याइएको बताए । अर्थ मन्त्रालयबाट केही दिनमै यो प्रस्ताव क्याबिनेट जाने तथा क्याबिनेटबाट स्वीकृत भएर आएपछि नयाँ स्टक एक्सचेन्ज दिने प्रक्रिया अगाडि बढ्ने अर्थ मन्त्रालय स्रोतले जनाएको छ । चुनावअघि नै नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिने तयारी भएको अर्थ मन्त्रालय सम्बद्ध स्रोतको दाबी छ । विवादित अर्थमन्त्री जनार्दन शर्मालाई दोहोया¥उनुका कारण विस्तारै खुल्दै जाने पनि स्रोतले बतायो । 

आइतबार एक कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चुनाव जित्न पैसा चाहिने र पैसा दलाल पुँजीपतिसँग हुने भाषण गरेका थिए । नयाँ स्टक एक्सचेन्ज खोल्नका लागि विभिन्न व्यवसायी इच्छुक छन् । तर, निजी क्षेत्रको एउटामात्रै कम्पनीले स्टक एक्सचेन्जको लाइसेन्स पाउने भएका कारण चुनावअघि नै हतारमा नियमावली संशोधन गरिएको अर्थ मन्त्रालय स्रोत बताउँछ । नयाँ नियमावली अनुसार स्टक एक्सचेन्जमा यसअघिको १० प्रतिशतलाई बढाएर अधिकतम १५ प्रतिशत होल्डिङ रहनुपर्ने व्यवस्था राखिएको छ । धितोपत्र बोर्डले भने बैंक तथा वित्तीय संस्थाको जस्तै बनाउन प्रावधान संशोधन गरेको जनाएको छ । 

यसैगरी, यसअघि बैंक तथा वित्तीय संस्था, धितोपत्र व्यवसायी र सूचीकृत भएका कम्पनीले मात्रै लगानी गर्न पाउने व्यवस्था भएकोमा संस्थागत लगानीकर्ताले समेत लगानी गर्न पाउने व्यवस्था पनि थप गरिएको छ । तर, व्यक्तिगत लगानीकर्ताले लगानी गर्न पाउँदैनन् । 

हाल बैंक, वित्तीय संस्था, धितोपत्र व्यवसायी तथा सूचीकृत संगठित संस्थाले मात्र धितोपत्र बजार (स्टक एक्सचेञ्ज) को सेयरमा लगानी गर्न सक्ने व्यवस्था छ । तर, संशोधन मस्यौदामा भने यी बाहेकका अन्य संस्थागत लगानीकर्ताले समेत लगानी गर्न सक्ने व्यवस्था गर्न लागिएको बोर्डले जनाएको छ ।

हाल भएको स्टक एक्सचेन्ज निजीकरणको कुरा बिर्सेर सानो बजारमा किन नयाँ स्टक एक्सचेन्ज भन्ने प्रश्नमा निजी क्षेत्र आउँदा बजार विस्तार हुने दाबी बोर्डले गरेको छ । दक्ष र अन्तर्राष्ट्रिय स्तरको टेक्नोलोजी भएको स्टक एक्सचेन्ज आएमा नेप्से प्रतिस्पर्धी हुने दाबीका साथ नयाँ स्टक एक्सचेन्ज ल्याउनका लागि बोर्डले २०७४ सालमा नै निर्णय गरेको थियो । 

तर, नेप्सेको सुधार तथा सरकारको लगानीलाई विनिवेश गरेर निजी क्षेत्र भित्र्याउने योजना पनि बेला बेलामा चर्चामा आइरहने गरेको थियो । 


शुक्रबारको नियमित कारोबार हट्ने

असोजदेखि शुक्रबारको नियमित सेयर कारोबार नहुने भएको छ । आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)को सञ्चालक समिति बैठकले असोजदेखि शुक्रबारको नियमित सेयर कारोबार बन्द गर्ने निर्णय गरेको हो ।

सरकारले १ जेठदेखि शनिबारसहित आइतबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेसँगै आइतबार हुने कारोबारलाई पूर्ति गर्नका लागि शुक्रबार पनि नियमित कारोबार सुरु गरिएको थियो । हाल सरकारले आइतबार सार्वजनिक बिदा दिने निर्णय फिर्ता गरिसकेका कारण सातामा ६ दिन नै नियमित कारोबार भइरहेको छ । 

शुक्रबार कारोबार गर्न पनि धितोपत्र बोर्डले मौखिक निर्देशन दिएको थियो । शुक्रबारको कारोबार बन्द गर्नका लागि मौखिक निर्देशन दिएका कारण नेप्सेले शुक्रबार नियमित कारोबार बन्द गर्न लागेको हो । 

No comments: