Friday, September 29, 2023

प्रधानमन्त्रीको चीन भ्रमणः ल्हासामा सुन छ, कान मेरो बुच्चै

प्रधानमन्त्री पुष्पकमल दाहाल आफ्नो एक साता लामो चीन भ्रमणपछि शनिबार ल्हासाबाट काठमाडौं फर्कदै छन् । तर, जम्बो सरकारी टोली लिएर तामझामका साथ गत शनिबार न्यूयोर्कबाट सिधैं चीन पुगेका प्रधानमन्त्री दाहालको उत्तरी छिमेकीको भ्रमण भने ‘ल्हासामा सुन छ, कान मेरो बुच्चै’ भनेझैं भएको छ ।

व्यापारविद् पुरुषोत्तम ओझाकाअनुसार पहिला-पहिला भएका सम्झौताका विषयहरुमात्र दोहोरिने तर कार्यान्वयनमा नजाने कमजोरीका कारण नेपालको चीनसँगको व्यापार घाटा चुलिदो छ ।

व्यापार तथा निर्यात प्रवर्धन केन्द्रको तथ्यांकअनुसार गत आर्थिक वर्षमा चीनसँग नेपालको व्यापार घाटा २ खर्ब २० अर्ब ९५ करोड छ । नेपालले गत आर्थिक वर्ष २०७९/ ८० मा चीनतर्फ १ अर्ब ७६ करोडको मात्र वस्तु निर्यात गरेकोमा चीनबाट भने २ खर्ब २२ अर्ब ७१ करोडको वस्तु आयात गरेको थियो ।

२०७२ सालको भूकम्पपछि नै चीनतर्फका नाका नियमित सञ्चालन भएनन् । कहिले भूकम्प, कहिले कोरोना त कहिले अन्य कारणले सिन्धुपाल्चोकको तातोपानी तथा रसुवाको केरुङ नाका नियमित सञ्चालनमा नआउँदा चीनतर्फ नेपालको निर्यात खुम्चेको छ । ‘नेपालले चीनमा पनि विशेषतः तिब्बतमा निर्यात गर्ने हो’, ओझा भन्छन्, ‘तर चीनको नाकाबन्दीले तिब्बततिरको निर्यात घट्दा समग्रमा नै नेपालको निर्यात खुम्चेको हो ।’

केन्द्रको तथ्यांकअनुसार गत एक दशकमा नेपालले सबैभन्दा धेरै निर्यात आव २०७४/७५मा गरेको छ । आव २०७४/७५ मा २ अर्ब ४७ करोडको निर्यात गरेको नेपालले त्यसअघि वा त्यसपछि पनि गत आवसम्ममा २ अर्बको निर्यात गर्न हम्मे हम्मे परेको देखिन्छ ।

तर आयात भने विगत एक दशकमा नै १ खर्बभन्दा बढी मात्र नभएर कुनै आवमा साढे २ खर्ब पनि नाघेको छ । साढे २ खर्ब र जम्मा २ अर्बको बीचको व्यापारको खाडल मेट्न ६ जना मन्त्री सहितको प्रधानमन्त्री भ्रमणको जम्बो सरकारी टोलीले घुमघामबाट फुर्सद् पाए कि पाएनन् होला, आगामी दिनमा देखिने नै छ ।

व्यापारविद् ओझाकाअनुसार व्यापार अभिवृद्धिको पहिलो शर्त नै सहज सडक सञ्जाल हो । नेपालले चीनसँगको व्यापार बढाउन नाकासम्म पुग्ने अत्यावश्यक सडक निर्माण तथा स्तरोन्नतीमा जोड दिन सकेको छैन । हरेक पटक काठमाडौं वा बेइजिङबाट हुने उच्चस्तरीय भ्रमण अगाडि तथा पछाडि केहि दिन यी नाका खुल्छन् फेरि बन्द भै हाल्छन् ।

यसपटकको संयुक्त वक्तव्यमा पनि नेपाललाई भूपरिवेष्टित मुलुकबाट भू–जडित मुलुकमा परिणत गर्न चीनको पारवहन यातायात र राजमार्गको उपयोगसम्बन्धी यसअघि हस्ताक्षर गरिएका सहयोगसम्बन्धी दस्तावेजहरू कार्यान्वयनलाई निरन्तरता दिन दुबै पक्ष सहमत भएका छन् ।

संयुक्त वक्तव्यका अनुसार नेपालको आवश्यकतालाई मध्यनजर गर्दै अरनिको राजमार्ग मर्मतसम्भार आयोजनाको चौथो चरणको काम सुरू गर्न चिनियाँ पक्ष तयार भएको छ । त्यस्तै, स्याफ्रुबेसी–रसुवागढी राजमार्ग मर्मतको काम चाँडो सुरु गर्न पनि चिनियाँ पक्ष सहमत भएको छ ।

हरेकपटका उच्चस्तरीय भ्रमणमा उहि कुराहरु आउँछन् तर कार्यान्वयनको तहसम्म आइपुग्दैनन् । जस्तै, करिब एक दशकदेखि केरुङ नाकाबाट हुने व्यापार सहजीकरणको लागी स्याफ्रुबेशीको बाटो स्तरोन्नतीको चर्चा भइरहेको छ तर कार्यान्वयन भएको छैन । यसैगरि, तातोपानी नाका पुग्ने बाटोको दूरावस्थामा पनि परिवर्तन आएको छैन ।

लिजी–नेचुङ बन्दरगाह सञ्चालन र यात्रु सेवाका लागि झाङ्मु–खासा बन्दरगाह पुनः सञ्चालन गरिएकोमा काठमाडौं बेइजिङ दुबै पक्षले स्वागत गरेका छन् । लिजी–नेचुङ बन्दरगाहमा नेपाली पक्षको सुविधाका लागि यथाशीघ्र सुधार गर्न सहयोग गर्ने प्रतिवद्धता पनि चिनियाँ पक्षले जनाएको छ ।

पुलान र जिलोङ बन्दरगाहमा यात्रु र कार्गो सेवाको सहज तथा व्यवस्थित सञ्चालनका लागि दुबै पक्षले प्रशंसा गरेका छन् । वक्तब्यकाअनुसार परम्परागत रूपमा सञ्चालन भइरहेका चीन–नेपाल सीमा व्यापार नाकाहरू पुनः खोल्न पनि चीन सहमत भएको छ । चेन्ताङ–किमाथाङ्का, रिवु–ओलाङचुङ्गोला बन्दरगाहलाई छिट्टै खोल्नका लागि निरन्तर सम्पर्क गर्ने विषयमा दुबै पक्ष सहमत भएका छन् ।

यसपटक पनि दुई देशबीचको यातायात सञ्जाल बिस्तार गर्न टोखा–छहरे सुरूङमार्गको सम्भाव्यता अध्ययन चाडो टुङ्गाउन, काठमाडौंको दोस्रो चरणको चक्रपथ विस्तार आयोजनालाई तीव्र गतिमा अघि बढाउन दुबै देश सहमत भएका छन् ।

साथै, जिलोङ–केरुङ–काठमाडौं अन्तरदेशीय रेलवेको सम्भाव्यता अध्ययनको प्रगतिप्रति सन्तुष्टि जनाउदै चीन–नेपाल रेलवे सहयोगसम्बन्धी आठौं कार्यदलको बैठक यथाशक्य चाँडो गर्नेमा पनि नेपाल–चीनबीच सहमति भएको छ । चिनियाँ पक्षले नेपालमा रेलवेसग सम्बन्धित तालिम दिन पनि तयार भएको छ ।

विगतको अनुभवका आधारमा भन्ने हो भने, यो संयुक्त वक्तव्यको मसी सुकिसक्दा पनि कार्यान्वयनमा भने न काठमाडौं न बेइजिङ, दुबैले त्यति वास्ता गर्ने छैनन् । र अर्को उच्चस्तरीय भ्रमणमा यी बुँदाहरु फेरि पनि दोहोरिने छन् ।

तर, बाटो सहज हुँदैमा मात्र नेपालको निर्यात बढ्ने होइन, झनै आयात बढ्न पनि सक्छ, व्यापारघाटाको खाडल झन् बढ्न सक्छ । त्यसैले निर्यात बढाउन चिनियाँ बजारलक्षित नेपाली वस्तुको उत्पादनमा पनि जोड दिनु आवश्यक छ ।

चीनले नेपालसहितका अतिकम विकसित मुलुकहरूबाट निर्यात हुने ९८ वस्तुहरूमा भन्सार शुल्क शून्य सुबिधा दिएको छ । त्यसबाहेक पनि चीनले नेपालका करिब ८ हजार वस्तुको निर्यातमा भन्सार शुल्क मिनाहा गरेको छ । तर, त्यसको फाइदा नेपालले उठाउन सकेको छैन । किनकि नेपालमा ती भन्सार शुल्क मिनाहामा सूचीकृत वस्तुहरुको गुणस्तरीय उत्पादन तथा चिनियाँ बजारको मागअनुरुपको परिमाणमा निर्यात गर्न सक्ने क्षमता छैन ।

चिनियाँ बजारको मागअनुरुपको परिमाण तथा गुणस्तरमा नेपाली वस्तु उत्पादकहरुको चासो तथा रुची नभएको उद्योग मन्त्रालयका एक अधिकारीले बताए । उनका अनुसार नेपाली वस्तु निर्यातमा भएका क्वारन्टाइनमा समस्या तथा गैरभन्सार अवरोध त छँदैछ, त्यसबाहेक पनि नेपालका आफनै कमजोरी पनि चीनतर्फ नेपाली निर्यात नबढ्नुको कारण हो ।

यसका साथै, चीनसँग निरन्तर व्यापार नबढ्नुको कारण भने नेपाली तथा चिनियाँ मुद्राबीचको परिवर्त्य दर पनि एउटा प्रमुख कारण रहेको मन्त्रालयको अध्ययन रहेको उनको भनाइ छ ।

त्यसैले चीन भ्रमणमा रहेका प्रधानमन्त्री दाहाल र उनका चिनियाँ समकक्षी ली छ्याङबीच प्रतिनिधिमण्डलस्तरीय वार्तापछि जारी संयुक्त वक्तव्यमा व्यापार प्रवर्द्धन तथा सहजीकरण, कूटनीतिक सम्बन्ध विस्तार तथा क्षेत्रीय सहयोगका लागि सहकार्य गर्ने विषयमा सहमति भएको भनिए पनि कुटनीतिकरुपमा यस्ता वक्तव्यको अर्थ त होला तर काठमाडौं र बेइजिङबीच देखिने गरि आर्थिक सम्बन्ध कसिलो हुनुको साटो ब्यावहारिकरुपमा झन् खुकुलो हुँदै गएको पाइन्छ ।


राजनीति हाबी, आर्थिक कूटनीति फेल

व्यापारमात्र नभएर नेपालमा चीनको लगानी पनि उल्लेख्य आएको देखिन्न । नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले गरेको अनुसन्धान प्रतिवेदनका अनुसार २०७९ असार मसान्तसम्ममा नेपालमा ५७ देशको प्रत्यक्ष वैदेशिक लगानी रहेकोमा चीन दोस्रो स्थानमा छ । तर, पहिलो हुने भारत र दोस्रो हुने चीनबीच लगानी रकममा दोब्बरभन्दा बढी फरक छ ।

प्रतिवेदनका अनुसार भारतबाट सबैभन्दा बढी ८८ अर्ब ५९ करोड वैदेशिक लगानी आउँदा चीनबाट जम्मा ३३ अर्ब ४५ करोडमात्र लगानी आएको छ ।

कुनै समय नेपालमा भित्रने वैदेशिक लगानीमा पहिलो स्थानमा रहेको चीन पछिल्ला वर्षहरुमा नेपालमा लगानी बढाउन चासो नदिनु नेपालप्रति चीनको विश्वासमा आएको कमी तथा नेपालको कमजोर आर्थिक कूटनीतिको परिणाम हो ।

जसका कारण पछिल्ला वर्षहरुमा उत्तरी छिमेकि नेपालको विकासमा भन्दा पनि राजनीतिमा बडि सकृय रहेको आरोप लाग्न थालेको छ । विश्वको एक नम्बर अर्थतन्त्र बन्ने लक्ष्यका साथ अगाडि बढेको छिमेकिबाट नेपालले कुनै आर्थिक फाइदा लिन नसक्नुमा नेपालका राजनीतिक दल अनि नीति निर्माताको पनि असफलता हो । (https://clickmandu.com/2023/09/268812.html)

Friday, September 8, 2023

‘बालेन’बाट गणतन्त्रलाई खतरा !

स्पष्टिकरणः यो लेख बालेनको समर्थनमा होइन । सर्भिस डेलिभरी गर्न नसक्ने तर लोकतन्त्रको ठेक्का लिने ठेकेदारहरुको समर्थनमा त झन् हुँदै होइन । अनि प्रश्न यो पनि होइन कि काठमाडौं महानगरका मेयर बालेन ठिक हुन् कि बेठिक । साथै, मौखिक वा अन्य कुनै पनि प्रकारका हिंसाको पनि यो लेखले समर्थन गर्दैन ।

सत्ता टिकाउन सर्वोच्च अदालतले सजाय किटिसकेको अपराधीलाई कानून नै बनाएर छुटाउने सरकारसँग बालेनलाई प्रश्न सोध्ने आँट त छैन नै । तर, प्रश्न के पनि होइन भने सरकार चोर हो कि होइन ?

सरकार चोर होइन । वैधानिक डाँका हो । राजनीतिशास्त्रको परिभाषाले त्यहि भन्छ । सरकारले कानून बनाएर नागरिकलाई लुट्छ भन्ने कुरा राजनीतिशास्त्रमा पढेकै हो, विश्वभर प्रचलित मान्यता पनि हो ।

त्यसैले प्रश्न के हो भने नेपाल भन्ने मुलुकका तथाकथित वुद्धिजीबि भनाउँदाहरु अबको १० वर्षमा नेपाललाई कहाँ पुगेको देख्न चाहन्छन् ?

अनि प्रश्न यो पनि हो कि १० वर्षे आन्तरिक द्धन्द्धका नायक प्रचण्डदेखि नडराएको लोकतन्त्र एउटा बालेनसँग किन डराउँछ ? महरापुत्र, पोखरेलपुत्र, पुनपुत्र लगायत यावत् क्रान्तीकारी पुत्रहरुसँग लोतन्त्रलाई खतरा छैन । तर, बालेनसँग किन लोकतन्त्रलाई खतरा छ ? के बालेनजस्त युवा विदेसिनु नै लोकतन्त्र जोगाउने एकमात्र उपाय हो ? बालेनहरुले नेपालमा राजनीति, उद्यम ब्यवासाय, पेशा गरेर आफनो जीवन बाँच्न नपाउने नै हो, त्यसो गरे लोकतन्त्र वास्तवमा नै खतरामा नै पर्ने हो त ?

तपाईंहरुले खाडीमा गएका युवा बाकसमा घर फर्कँदा उसको बाबुको अनुहार देख्नु भएको छ । उसका बच्चाबच्चीको अनुहार देख्नु भएको छ । बाँचुन्जेल त उसले रेमिट्यान्स पठायो, परिवार पाल्यो । तर, मरेपछि उसको परिवारको अवस्था के छ, कसैले गएर हेर्नु भएको छ ।

२०६२/६३ सम्मका प्रचण्ड आज लोकतन्त्रवादीकै भाषामा चरम पुँजीवादको पनि निकृष्ट मानिएको आसेपासे पुँजीवादको जालोमा एकपछि अर्को गर्दै फस्दै गए । त्यसैले लोकतन्त्रवादीहरू फुलेल छन्, कुम जोडेर बसेका छन्, अझ बेला-बेलामा बचाऊ पनि गर्छन् । आजको दिनसम्म आइपुग्दा लोकतन्त्रवादीले प्रचण्डबाट डराउन पर्दैन । किनकि, प्रचण्ड र लोकतन्त्रवादी अब ‘पार्टनर इन क्राइम’ हुन् ।

चुनाव जित्न पैसा चाहिन्छ र पैसा नहुँदा पार्टी पनि जोगिन्न भन्ने प्रचण्ड लाइन सर्बेसर्बा हुन एक दशकमात्र लाग्यो । भलै त्यो सिक्न एमालेलाई दुई दशक लागेको थियो । प्रचण्डले एक दशकमै अग्रगामी फड्को मारेर, कांग्रेस र एमाललेको हाराहारीमा आफनो दललाई पुर्याए । त्यसैले लोकतन्त्रवादी प्रचण्डको अग्रगमनसँग डराउँदैन । तर, एउटा बालेनसँग डराउँछ ।

२०४५ सालअघि दाँया हातका मुठ्ठिभरको मुलुक थियो । २०४६ पछि बाँया हाते मुठ्ठिभरका लागि त स्वर्गै हो, नेपाल। त्यसैले एउटा बालेन लोकतन्त्रका लागि खतरा भयो ।

हाम्रो पुस्ता गगन थापा, यागेश भट्टराई अनि रामकुमारी झाँक्रीलगायतले बालेको टायरको धुँवा खाएर हुर्किएको हो । आजको दिनमा बालेनलाई चोर औंला देखाउँदै गर्दा के भुल्नु हुन्न भने गगन, योगेश र रामकुमारीले पनि चोर सरकार भनेरै रत्नपार्कदेखि बागबजारसम्मका पर्खाल भत्काएका हुन् । रेलिङ भाँचेकै हुन् । माओवादीको त के कुरा, ५००० जना मारेको जिम्मा प्रचण्डले खुलेआम लिएकै छन् ।

त्यसैले बालेन ठिक भनेर बचाऊ गर्न खोजेको होइन, गर्नै पर्दैन । गगन, योगेश र रामकुमारीहरुले दुई दशकमा जे राजनीति गरे वा जसरी राजनीति गर्न सिके बालेन त्यो बाटोमा भर्खर पाइला सार्दैछन् मात्र भन्न खोजेको हो । हिँजो गगनले जे गर्थे आज बालेनले गरिरहेका छन्, हिँजो गगनले जे गर्थे आज सुमनाहरुले गरिरहेका छन्, हिँजो गगनले जे गरे आज स्वर्णिम वाग्लेहरुले गरिरहेका छन् ।

त्यसोभए किन उनीहरुबाट लोकतन्त्रलाई खतरा भयो त ?

हिँजो तत्कालीन सत्ताको विरोधमा नागरिकलाई सचेत बनाउन त्यो आन्दोलन आवश्यक थियो भने आज पनि सत्ताकै विरोधमा नागरिकलाई ब्यूँझाउनु पर्ने अवस्था छैन भन्ने ग्यारेन्टी गर्न सक्ने महापुरुषले एकपटक छातीमा हात राखेर, वीपी, मदन वा आफ्ना आदर्श कसलाई मान्नुहुन्छ सम्झनुहोस्, उत्तर तयार छ ।

अझ, तर्कै गर्ने हो भने, बालेनको ठाउँमा नेपाली कांग्रेस वा नेकपा एमाले वा समाजवादी वा माओवादीको नेताले सिंहदरबारमा आगो लगाउने कुरा गरेका भए के हुन्थ्यो ? वाहवाही हुन्थ्यो, टिकटकमा हजारौं लाइक अनि कमेन्ट हुन्थे । क्रान्तीकारी मानिन्थ्यो। अझ रमाइलो त प्रधानमन्त्री प्रचण्ड आफैं विप्लवको काँधमा बन्दुक राखेर त्यहि गर्दैछन् । प्रधानमन्त्री प्रचण्ड किन पनि भने पुष्पकमल हुनै सकेनन् उनी ।

त्यसैले नेपाललाई अन्तर्राष्ट्रियस्तरमै मानव तस्कर तथा सुन तस्करको स्वर्गको रुपमा स्थापित गराउन दिनरात मिहेनत गर्ने उत्तराधिकारीहरुबाट पनि लोकतन्त्रलाई खतरा छैन । तर, एउटा बालेनबाट लोकतन्त्रमा खतरा छ ।

तपाईंले मुलुक कति बनाउनु भो, कति आफू बन्नु भो ? आफ्नालाई कति बनाउनु भो ? लेखाजोखा गर्नु पर्छ, गर्नै बाँकी छ, अब ढिलो गर्नुहुन्न । तर, त्यसको हिसाब गर्न एउटा होइन ५० वटा बालेन चाहिन्छ ।

लोकतन्त्रका नाममा शिक्षा ध्वस्त बनाउँदा हामी चुप छौं । स्वास्थ्य ध्वस्त बनाउँदा हामी चुप छौं । अर्थतन्त्र ध्वस्त बनाउँदा अनि राज्यका संयन्त्रलाई कठपुतली बनाउँदा पनि हामी चुप छौं । लोकतन्त्रको सुन्दरता हेर्न नेपाल जाउँ भन्ने ‘स्लोगन’ राखेर एकपटक फेरि नेपाल भ्रमण वर्ष पो मनाउने हो कि भन्ने पनि लाग्दो हो, सत्ताको चास्नीमा रमाउन पाएकालाई ।

आज १२ पास गरेका हाम्रा छोराछोरीहरु आफ्ना बा-आमाको काखमा आफ्नो भविष्य नदेखेर ह्वारह्वार्ती विदेसिँदै छन्, त्यसले पनि लोतन्त्रको भविष्य खतरामा पर्दैन । किनकि, नेताका उत्तराधिकारीहरु त छँदै छन् नि सुनौलो नेपाल बनाउन ।

सत्ता निकटका परिवारका, उनका आसोपासे अनि कार्यकर्ताको अनुहार अनि जीवनशैली हेर्नु भएको छ ? कस्तो चम्किलो छ, मानौं बलिउडमा नायक-नायिका हुन् । करोडौंका गाडी छन्, शान सौकत छ, आन्दोलनको लाभांश पाएकै छन् । तिनबाट झन् लोकतन्त्रलाई खतरा हुने कुरै भएन ।

तर, यहि मुलुकमा छाक टार्न अनि आफनो बालबच्चालाई पाल्न असमर्थ भएर बाध्यतावश युवाहरु खाडीको ५० डिग्रीमा मुटु फुटाउन गएका कारण ती अनुहार चम्किलो भएका हुन् । खाडीमा गएका युवाले रेमिट्यान्स पठाइदिन्छन्, सरकारलाई गाडीमा डिजेल हाल्न मिहेनत गर्नु परेको छैन । आसोपासेलाई भत्ता बाँड्न पनि पुग्छ । आसेपासे र कार्यकर्तालाई सर-सपट गर्न पनि पुग्छ अनि आउन्न त अनुहारमा चमक । उनीहरुको अनुहारमा चमक आएपछि लोकतन्त्रको भविष्य त्यसै सुरक्षित हुन्छ।

विदेशी भूमिमा हाड घोटेर नेपाली युवाले हरेक महिना १ खर्ब रेमिट्यान्स पठाउन थालेका कारण पछिल्ला महिनाहरुमा अर्थतन्त्रमा केहि सहजता देखिएको छ । बढ्दो रेमिट्यान्सका कारण बाह्य अर्थतन्त्रमा क्रमिक सुधार देखिए पनि आन्तरिक अर्थतन्त्रलाई चलायमान हुन सकेको छैन । निर्माण व्यवसायीले काम गरेको पैसा नपाएर आन्दोलित छन् । तर, लोकतन्त्र सुरक्षित छ।

तपाईंहरुले खाडीमा गएका युवा बाकसमा घर फर्कँदा उसको बाबुको अनुहार देख्नु भएको छ । उसका बच्चाबच्चीको अनुहार देख्नु भएको छ । बाँचुन्जेल त उसले रेमिट्यान्स पठायो, परिवार पाल्यो । तर, मरेपछि उसको परिवारको अवस्था के छ, कसैले गएर हेर्नु भएको छ ।

फेरि पनि भ्रममा नपर्नुहोस्, ऊ मुलुक बनाउन खाडी गएको होइन । आफ्नो र आफ्नो परिवारको पेट पाल्न खाडी गएको हो । तर, तपाईंले त मुलुक बनाउने ठेक्का लिन्छु भनेर आन्दोलन भन्दै हजारौं नागरिकको अकाल मृत्यूको कारण बनेको आन्तरिक द्धन्द्ध हुँदै चुनाव जितेर आउनु भएको हो नि । कति चाँडै विर्सेको हजुर, ख्वामित ।

तपाईंले मुलुक कति बनाउनु भो, कति आफू बन्नु भो ? आफ्नालाई कति बनाउनु भो ? लेखाजोखा गर्नु पर्छ, गर्नै बाँकी छ, अब ढिलो गर्नुहुन्न । तर, त्यसको हिसाब गर्न एउटा होइन ५० वटा बालेन चाहिन्छ ।

याद राख्नुहोस्, अबको १० वर्षपछि नेपालमा ५०-५५ कटेका वा १२ कक्षा पढ्नेभन्दा कम उमेरका नागरिकमात्र हुनेछन् । त्यतिबेला तपाईंको लोकतन्त्र कसले बचाइदिन्छ ? दन्त्यकथामा झैं कुनै एउटा राजकुमार आएर यो मुलुकलाई जादुको छडीले चलायमान बनाउला भन्ने भ्रममा हुन त पाइन्छ । तर, त्यसो हुँदैन ।

गत आर्थिक वर्षको सुरुवातमा मुलुकमा रुवाबासी चल्यो । अर्थतन्त्र सुस्तायो, आयात नियन्त्रण गर्नु पर्ने बाध्यकारी अवस्था आयो, किन थाहा छ, किनकि नेपाली युवाले पठाउने रेमिट्यान्स ह्वात्तै घट्यो । रेमिट्यान्स नेपालीको हातमा छैन । रोजगारदाता मुलुकको आर्थिक, सामाजिक एवं राजनीतिक अवस्थामा भर पर्दछ ।

त्यसैले गत आर्थिक वर्षको सुरुवाती महिनाहरुमा रेमिट्यान्स आय घट्यो ।

आयात प्रतिस्थापन र आत्मनिर्भर अर्थतन्त्रका ठुल्ठुला भाषणले गरेको ध्वनी प्रदुषणको असर कम नहुँदै अत्यावश्यकभन्दा अन्य वस्तुको आयात धान्नै नसक्ने अवस्थामा पुगेपछि सरकार अनि राष्ट्र बैंकले कडिकडाउ गर्नु पर्यो । तर, लोकतन्त्र खतरामा परेन । किनकि, यो मुलुक गरिबका लागि होइन नि चमेली । २०४५ सालअघि दाँया हातका मुठ्ठिभरको मुलुक थियो। २०४६ पछि बाँया हाते मुठ्ठिभरका लागि त स्वर्गै हो, नेपाल। त्यसैले एउटा बालेन लोकतन्त्रका लागि खतरा भयो ।

बालेन एउटा प्रतिनिधि आवाजमात्र हो, कृपया आफ्ना छोराछोरीसँग एकपटक बस्नुस्, उनीहरुका कुरा सुन्नुस् । अनि सोध्नुस्, उनीहरु के भन्छन् ? नेपालमा उनीहरु आफ्नो भविष्य देख्छन् ?

गत आर्थिक वर्षमा २ लाख १० हजार २१७ विद्यार्थी विदेश पढ्न गएछन् । एक दशकको हिसाब निकाल्ने हो भने करिब साढे ५ लाख विद्यार्थी विदेश पढ्न गएछन् । नेपालमा स्नातक तथा स्नातकोत्तरमा तहमा पढ्ने विद्यार्थी घटेको घट्यै छन्, विश्व विद्यालयहरु खाली हुँदैछन् । कोहि पनि नेपालमा पढ्न चाहाँदैनन्, त्यसैले बालेन लोकतन्त्रका लागि खतरा हो ।

आज धेरैका छोराछोरी नेपालमा छैनन्, जो छन् ती पनि उड्न तयार छन् । यो व्यक्तिगत स्वतन्त्रता र मानव अधिकारको विषय पनि हो । अझ तपाईं आफैं पनि ५ वा १० वर्षपछि वा रिटायरमेन्टपछि उतै हानिने सोचमा हुनुहुन्छ होला । त्यसैले आजकाल त घुसको लेनदेन पनि विदेशमा नै हुन्छ भन्ने जगजाहेर नै छ ।

तर, याद राख्नुहोस्, अबको १० वर्षपछि नेपालमा ५०-५५ कटेका वा १२ कक्षा पढ्नेभन्दा कम उमेरका नागरिकमात्र हुनेछन् । त्यतिबेला तपाईंको लोकतन्त्र कसले बचाइदिन्छ ? दन्त्यकथामा झैं कुनै एउटा राजकुमार आएर यो मुलुकलाई जादुको छडीले चलायमान बनाउला भन्ने भ्रममा हुन त पाइन्छ । तर, त्यसो हुँदैन । यो २१औं शताब्दी हो, महोदय ।

गणतन्त्रमाथि खतरा छ भने गणतन्त्रबादीबाटै छ । बालेनबाट होइन । संघीयतामाथि खतरा छ भने, संघीयताबादीबाटै छ । बालेनबाट होइन ।

विश्व बैंकको प्रतिवेदन पढेर जनसांख्यिक लाभको सपनामा दङ्ग हुनुहुन्छ भने बिउँझनुहोस् । काम गर्ने उमेरका युवाको जनसंख्या टन्नै छ भन्ने तथ्यांक घोकेर बस्नु भएको छ भने थाहा पाउनुहोस्, नेपालको जनसांख्यिक लाभ अब खाडी र मलेसियापछि युरोप, अमेरिका, अष्ट्रेलिया, जापानलगायतका विश्वका विकसित मुलुकले उठाउँदैछन् ।

२०७८ को जनगणनाअनुसार १६-४० वर्ष उमेर समूहका युवाको जनसंख्या ४२.५६ प्रतिशत अर्थात् १ करोड २४ लाख १२ हजार १७३ रहेको छ । युवाको संख्या उल्लेख्य हुनु कुनै पनि मुलुकको विकासका लागि राम्रो सूचकांक हो । तर, नेपालमा कुनै पनि सरकारले युवा जनशक्तिको सही परिचालन गरेर लाभ लिन सकेन सकेको छैन ।

२०६८ को जनगणनामा भन्दा युवाको जनसंख्या कम हुनु तथा प्रजनन् दर घट्न थाल्नुले पनि नेपालले जनसांख्यिक लाभ लिने समय छोटिँदैछ भन्ने बुझिन्छ । २०७८ को जनगणनाअनुसार ५ वर्षभन्दा कम उमेरको जनसंख्या १.३३ प्रतिशत विन्दुले कम हुँदा ६० वर्षभन्दा माथिको उमेर समूहको जनसंख्या २.०८ प्रतिशत विन्दुले बढेको छ । नयाँ जन्मिने भन्दा बुढ्यौली उमेरमा जानेको अनुपात बढ्दै गएका कारण नेपालमा आश्रित जनसंख्या बढ्दै छ अनि क्रमश जनसांख्यिक लाभ लिनसक्ने सुविधाजनक अवस्था मुलुकले गुमाउँदै छ ।

जनगणनाले एक दशकअघि नेपालको जनसंख्या वृद्धिदर १.३५ प्रतिशत रहेकोमा हाल त्यो ०.९३ मा झरेको स्पष्ट पारेको छ । २०६८ मा भन्दा जनसंख्या वृद्धिदर एक दशकमा झन्डै ३१ प्रतिशतले घट्नु, त्यसमाथि पनि श्रम गर्ने उमेरका युवा जनसंख्याको वृद्धिदर खुम्चनुले नेपालको विकासका लागि जनसांख्यिक लाभको अवसर घट्दै गइरहेको प्रमाण हो ।

तर, हाम्रो सरकारलाई युवा जनशक्ति घाँडो भएको छ, आन्दोलन गर्लान् भन्ने पीर छ । त्यसैले सकेसम्म नेपालमा रोजगारी सिर्जना गर्न चाहन्न । नेपालमा आजसम्म कुनै बहादुर प्रधानमन्त्री वा अर्थमन्त्री निस्केनन्, जसले गर्वका साथ मैले यति दीर्घकालीन तथा सम्मानजनक रोजगारी सिर्जना गरे भनेर दावी गरोस् ।

जुन मुलुकमा राजनीति नै सबैभन्दा ठुलो पेशा तथा व्यवसाय छ, त्यो मुलुकमा आर्थिक गतिविधिमा संकुचन आउनु अनौठो होइन। युवा जनशक्ति पलायन, पुँजीको अभाव अनि प्राकृतिक स्रोतमा पंचायतकालमा झैं केहि टाठाबाठाको एकाधिकार, अनि लोकतन्त्र के ले जोगाउँछ, चमेली ?

डा. रामशरण महत, महेश आचार्यलाई अनि गिरिजाप्रसाद कोइरालालाई जति गाली गरेपनि सरकारको नीतिकै कारण कल कारखान बढेको, रोजगारी सिर्जना भएको २०४८ देखि २०५२ सम्ममात्र हो । त्यहि नीतिले १० वर्षे आन्तरिक द्धन्द्धमा पनि नेपालको अर्थतन्त्र जोगियो । त्यहि नीतिको लाभांस पाएर नै आज उदार अर्थतन्त्रको विरोधमा कफिसपमा बसेर ट्वीट गर्ने अवसर प्राप्त भएको छ ।

त्यसमाथि नेपाल सरकार आफ्नो युवा जनशक्ति खाडी, मलेसिया नभए जहाँ भएपनि जाउन भन्छ, नेपाल नबसुन् भन्छ । राज्य संयन्त्र आफैं लागेर अर्कै मुलुकको नागरिक बनाएर युवा तस्करी गरेको मुद्दा भर्खर सुरु भएको छ ।

तर, विकसित मुलुकलाई आफ्नो अर्थतन्त्रलाई विस्तार गर्न काम गर्ने उमेरका जनशक्ति चाहिएको छ । नपत्याए एकपटक लोकतन्त्रको मायावी सपनाबाट वास्तविकताको सडकमा ओर्लिएर हिँड्नु होस् त । पुतलीसडक, कुमारीपाटी अनि काठमाडौंमात्र नभएर मुलुकका विभिन्न सहर अनि सहरउन्मुख बजारमा विदेश पठाउने कन्सल्टेन्सिले भरिभराउ छन् । केहि कलेजले त आफैंले आइइएलटिएस र टोफेलका कक्षा पढाउन थालिसके । अब जापानीज र कोरियन कक्षा पनि सुरु गरे भने आश्चार्य मान्नु पर्दैन ।

जुन मुलुकमा राजनीति नै सबैभन्दा ठुलो पेशा तथा व्यवसाय छ, त्यो मुलुकमा आर्थिक गतिविधिमा संकुचन आउनु अनौठो होइन। युवा जनशक्ति पलायन, पुँजीको अभाव अनि प्राकृतिक स्रोतमा पंचायतकालमा झैं केहि टाठाबाठाको एकाधिकार, अनि लोकतन्त्र के ले जोगाउँछ, चमेली ?

अर्थतन्त्र पञ्चायतकालमाझैं लाइसेन्सराजतिर फर्कंदै छ । अर्थतन्त्र प्रतिगामी बाटोमा अनि राजनीति प्रणाली चाहिँ प्रगतीशिल कसरी हुन्छ ?

त्यसैले गणतन्त्रमाथि खतरा छ भने गणतन्त्रबादीबाटै छ । बालेनबाट होइन । संघीयतामाथि खतरा छ भने, संघीयताबादीबाटै छ । बालेनबाट होइन ।

मध्यबानेश्वरमा आत्मदाह गर्ने इलामका युवा उद्यमी प्रेमप्रसाद आचार्य सम्झनु हुन्छ नि, हुनत बिर्सिसक्नु भयो होला । कहाँ फुर्सद छ, नागरिकका बारेमा सोच्ने ? त्यहि प्रेमप्रसाद आचार्य, बालेन, अनि अस्ती त्यो कान्ति बाल अस्पतालमा पालो कुर्दा कुर्दै मृत्युवरण गर्ने ५ वर्षिया छोरी पो हुन् त वास्तवमा लोकतन्त्रका खतरा ।
गणतन्त्रविरुद्धका षड्यन्त्रकारी अनि संघीयता विरोधी!!! (https://clickmandu.com/2023/09/264784.html)