Monday, August 1, 2022

अन्तर्राष्ट्रिय बजारमा भाउ घट्दा नेपालमा घटाउँदैन निगम

एक महिनामा प्रतिलिटर पेट्रोलमा ३२.५६ रुपैया घटेर आएको छ


एक महिनाको अवधीमा इन्डियन आयल कर्पोरेसन (आइओसी)बाट प्रतिलिटर पेट्रोलमा ३२ रुपैया ५६ पैसा घटेर आएको छ । आइओसीबाट भाउ बढेर आउँदा स्वचालित मुल्य प्रणालीका नाममा तत्काल भाउ बढाउने नेपाल आयल निगम भने पछिल्लो एक महिनामा लगातार दुइ पल्ट भाउ घटेर आउँदा पनि स्वचालित मुल्य प्रणालीको उच्चारण गर्न पनि चाहँदैन ।

आइओसीले नेपाललाई बिक्री गर्ने पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको यो दोस्रो पटक हो । प्रत्येक अंगे्रजी महिनाको पहिलो तथा पन्ध्रौ तारिखमा आइओसीले इन्धनको नयाँ मुल्य पठाउँछ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्न थालेपछि यसपटक १६ जुलाई तथा १ अगस्ट गरेर दुई पटक आइओसीले नेपालका लागि पनि मूल्य घटाएर पठाएको छ । 

आईओसीले १ अगस्टमा पठाएको नयाँ मूल्यसूचीअनुसार प्रतिलिटर पेट्रोलमा १६.८० रुपैयाँ तथा डिजेल र मट्टीतेलमा १२.४५ रुपैयाँले घटाएको छ भने यसअघि गत १५ जुलाईमा पनि आईओसीले पठाएको मूल्यसूचीमा प्रतिलिटर पेट्रोलमा १५.७६ रुपैयाँ र डिजेलमा १६.५६ रुपैयाँले मूल्य घटाएको थियो ।

तर, भारतबाट मूल्य घटेर आए पनि निगमले भने अझै पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छैन । यसअघि मूल्य घटेर आउँदा पनि निगमले अझै प्रतिलिटर पेट्रोलमा १४.१९ रुपैयाँ तथा डिजेल र मट्टीतेलमा २१.९२  रुपैयाँ घाटा नै रहेको जनाउँदै मूल्य समायोजन गरेको थिएन । तर १ अगस्टको मुल्यका अनुसार निगमलाई प्रतिलिटर पेट्रोलमा २ रुपैयाभन्दा बढि नाफा हुन्छ । डिजेलमा भने अझै घाटा रहेको निगमको दाबी छ ।

अन्तर्राष्ट्रिय बजारमा प्रति ब्यारेल (१५९ लिटर) कच्चा तेल गत वर्षको १२३ अमेरिकी डलरबाट घटेर हाल १०३ डलरमा झरेको छ । जसका कारण आइओसीले पनि निगमलाई पछिल्लो एक महिनामा र्दुइ पटक भाउ घटाएर पठाएको हो । तर, निगमले आफनो घाटा बाँकी नै रहेकाले भाउ कम गर्न सक्ने अवस्था नरहेको जनाएको छ । निगमका अनुसार हाल आइओसीलाई १४ अर्ब रूपैयाँ अझै तिर्न बाँकी छ । साथै, मूल्य घटेर आउँदा पनि १५ दिनमा ७५ करोड घाटा छ भने मासिक १.५० अर्ब घाटामा हुने निगमले जनाएको छ । भारतले पठाएको नयाँ मूल्य अनुसार निगमलाई पेट्रोलमा नाफा हुने भएकाले निगमको घाटाम सुधार हुने देखिन्छ ।

आयल निगमले आइओसीबाट सबै किसिमका प्रशोधित पेट्रोलियम पदार्थ किन्दै आएको छ । यसरी पेट्रोलियम किनेबापत आइओसीले हरेक पन्ध्र–पन्ध्र दिनमा आयल निगमलाई मूल्य पठाउने गर्छ। सोही मूल्यका आधारमा निगमले उपभोक्ता मूल्य तोक्छ । आइओसीले अन्तर्राष्ट्रिय बजारबाट किन्ने कच्चा तेलको लागत मूल्यमा आफ्नो प्रशोधन शुल्क लगायत खन्य खर्चहरू जोडेर नेपालको निम्ति बिक्री मूल्य तय गर्छ ।

निगमले उपभोक्तालाई हाल पेट्रोल १८१ मा तथा डिजेल र मटितेल १७२ बिक्री गर्दै आएको छ भने हवाई इन्धन (आन्तरिक) १ सय ९० मा बिक्री गर्दै आएको छ । हवाई इन्धन (बाह्य) १.६४५ अमेरिकी डलरमा बिक्री गर्दै आएको छ । साथै खाना पकाउने एलपी ग्यास १८ सयमा बिक्री गर्दै आएको छ ।

इन्धनको मुल्य बढेका कारण यातायातदेखि बजार भाउसम्म सबै बढेको छ । नेपाल राष्ट्र बैंकको सर्वेक्षणअनुसार हाल पनि बजारमा १४ प्रतिशतको मुल्यबृद्धि छ भने आगामी तीन महिना अर्थात् दशैं तिहारमा पनि मुल्यबृद्धि १४.२ प्रतिशत नै हुने अनुमान गरिएको छ । 

No comments: