Tuesday, November 27, 2018

काठमाडौंमा उस्ताद जाकिरको जादू

काठमाडौंको चिसो रात अनि पाल हालेको चौरभरी संगीत पारखीहरु कुरिरहेका छन्, तबलाका जादूगर उस्ताद जाकिर हुसेनको जादूमय तबलाबादन सुन्न । काठमाडौंले २० वर्षअघि उनको तबलाको जादू प्रत्यक्ष देखेको र सुनेको थियो । यसपटक २० वर्षपछि नेपाल–भारत कूटनीतिक सम्बन्ध स्थापनाको ७० वर्ष पुगेको अवसरमा भारतीय राजदूतावासले ‘जाकिर हुसेन इन कन्सर्ट’ आयोजना गरेको थियो, मंगलबार राति लैनचौरस्थित दूतावासको इन्डिया हाउस परिसरमा ।
जाकिरको तबला सुन्नमात्र होइन, हेर्न पनि मनमोहक थियो । तीव्र गतिमा तबलामा बजिरहेका उनका औंलाको जादू सुन्न जति आनन्ददायक रह्यो, हेर्न उत्ति नै आकर्षक ।
उद्घोषिकाले जब उस्ताद जाकिर हुसेन आउनै लागेको बताइन्, चिसो बिर्सिएर श्रोताहरुले तालीको गडगडाहटले स्वागत गरे । जब उनका औंलाहरु तबलामा नाच्न थाले, चिसो हरायो र उस्तादको तबलासँगै झुम्न थाले दर्शक । घरी रोमाञ्चित हँुदै, घरी आनन्दित हँुदै श्रोताहरुले करिब २ घन्टा चिसो रातमा पालमुनि विश्वकै लोकप्रिय तबलावादक जाकिर हुसेनको तबलाको जादूमा हराए । दर्शकमाझ उनले आधुनिक, शास्त्रीय तथा केही रमाइला वादन प्रस्तुत गरे र मन्त्रमुग्ध बनाए ।
उस्ताद जाकिरसँग सारंगीमा शबिर खान, ढोलकमा नवीन शर्मा र मृदंगमा अनन्त कृष्णन थिए । कन्सर्टको सुरुवात शबिर खानले आफ्नो सारंगीवादन मार्फत् गरे । भारतको विभिन्न पृष्ठभूमिका तथा फरक–फरक बाद्ययन्त्रमा उनीहरुले एउटै कथा सुनाए । “पहिला यो सम्भव थिएन । तर आज यो सम्भव भएको छ । संगीतले हामी सबैलाई जोडेको छ,” जाकिरले भने । कार्यक्रमको सुरुमा भारतीय राजदूत मन्जिव सिंह पुरीले उस्तादको टोलीलाई आफूहरूको निम्तो स्विकारिदिएकोमा धन्यवाद दिएका थिए ।

No comments: