Sunday, November 25, 2018

नेपाल लिटरेचर फेस्टिभल पुस ७ देखि

नेपाल लिटरेचर फेस्टिभलको सातौं संस्करण आगामी पुस ७ देखि १० गतेसम्म पोखरामा हुने भएको छ । फेस्टिभलबारे जानकारी दिन सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा आयोजक बुकवर्म फाउन्डेसनले यस पटक साहित्य उत्सवमा सयभन्दा बढी स्वदेशी तथा विदेशी लेखक सहभागी रहने र तीन दर्जन भन्दा बढी सेसन र अन्य थप रोचक सामग्री समावेश हुने जानकारी दिएको छ ।
‘जहाँ शब्दहरू जीवन्त हुन्छन्’ भन्ने नारासहित सन् २०११ मा काठमाडौंबाट सुरु भएको फेस्टिभलको चार संस्करण काठमाडौंमा नै गरेपछि साहित्य तथा साहित्यकारलाई काठमाडौंको प्रदूषणबाट सुन्दर नगरी पोखरा पु-याइएको आयोजकको भनाइ छ । फेस्टिभल संयोजक रविन गिरीका अनुसार फेस्टिभलमा बेलायती ग्राफिक नोभलिस्ट निकोला स्ट्रिटसँग मास्टर कार्यशाला तथा ब्रिटिस काउन्सिलको क्रिएटिङ हिरोइन्स प्रोजेक्ट प्रदर्शनी पनि हुनेछ । यस्तै, फेस्टिभलमा अर्थतन्त्र, शिक्षा, स्वास्थ्य, रेमिट्यान्सलगायत विषयमा समेत छलफल गरिने पनि गिरीले बताए ।
यस पटकको फेस्टिभलमा पाकिस्तानका मोहम्मद हनिफ, भारतकी नमिता गोखले, प्रज्वल पराजुली, क्यानडाकी मन्जुश्री थापा, पाकिस्तानकी सब्रिना टोप्पा, बेलायतकी डा. निकोला स्ट्रिटेन तथा भारतका हरिश नाम्बियार र ए एस अनुपमलगायतको सहभागिता रहनेछ ।
फेस्टिभलका निर्देशक अजित बरालका अनुसार नेपाली र अन्य भाषा र भूगोलका साहित्यलाई एउटै मञ्चमा ल्याएर मन्थन गर्ने, स्रष्टा र पाठकबीचको दूरी कम गर्ने र फरक विचारलाई सम्मानका साथ स्थान दिने काममा फेस्टिभल उत्प्रेरक बनेको छ । फेस्टिभल पाठकले मनपरेका लेखक र लेखकले पाठक भेट्ने थलो हुने भन्दै उनले फेस्टिभलमा तीन दर्जनभन्दा बढी सेसन सञ्चालन हुने बताए । उनका अनुसार यसपटक साहित्य महोत्सवमा नयाँ लेखक र साहित्यकार पनि वक्ता रहने छन् ।
रेमिट्यान्स कम्पनी आइएमई ग्रुप र फाउण्डेसनबीच फेस्टिभल प्रायोजन सम्झौता भएको जानकारी दिँदै बरालले महोत्सवको नाम यसपटक पटक ‘आइएमई नेपाल लिटरेचर फेस्टिभल’ भएको बताए ।

कर्टेन रेजरमा गुरुचरण दास
‘आईएमई नेपाल लिटरेचर फेस्टिभल २०१८’ को कर्टेन रेजर कार्यक्रममा शनिबार भारतीय लेखक तथा चिन्तक गुरुचरण दासले ऋषिमुनिहरूले सुखी तथा सम्पन्न जीवनको अर्थ खोज्ने क्रममा नै मानव जीवनका धर्म, अर्थ, कामः तथा मोक्षलाई चार पुरुषार्थ भनी पारिभाषित गरेको स्मरण गरे ।
आफूलाई नेपालको ‘ज्वाइँ साहब‘को रुपमा परिचित गराउँदै कार्यक्रममा उनले आफ्नो नयाँ पुस्तक ‘कामः द रिडल अफ डिजायर’को विषय ऋषिमुनिहरूले बताएको चार पुरुषार्थमध्ये तेस्रो कामःको विषयमा केन्द्रित रहेको बताए ।
“आदिकालीन समाजमा जीवन भावनात्मक रुपमा अर्थपूर्ण रहेको थियो किनकि त्यसबखतमा समाज उदार थियो । साथै, धर्म, अर्थ, कामः तथा मोक्षलाई उच्चतम महत्व दिइएको थियो,” उनले भने, “तर हामीले हाम्रो सभ्यता तथा इतिहास बिर्सियौं । त्यसैले मैले मेरा किताबमा यिनै विषयलाई व्याख्या गर्ने कोसिस गरेको छु ।”
कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीले देशको सार्वाङ्गिण विकासका लागि साहित्यको पनि ठूलो भूमिका हुने बताउँदै देशको समग्र समृद्धिका लागि आर्थिक विकास मात्र पर्याप्त नहुने बताए । “यसका लागि कला, साहित्य एवम् संस्कृतिको समृद्धि पनि आवश्यक हुन्छ । त्यसैले नेपाल लिटरेचर फेस्टिभल जस्ता महोत्सव भइराख्नुपर्छ,” उनले भने ।
कार्यक्रममा फेस्टिभलका प्रायोजक आइएमईका कार्यकारी निर्देशक सुमन पोखरेलले आइएमईलाई लिटरेचर फेस्टिभलमा प्रायोजनको अवसर दिएकोमा बुकवर्म फाउन्डेसनलाई धन्यवाद दिदै आइएमईले सामाजिक उत्तरदायित्वका क्षेत्रमा पनि काम गरिरहेको र यस्ता महोत्सव आदिमासहकार्य गरिरहने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रमको सुरुमा लेखक शिवानीसिंह थारुले आधुनिक नेपाली साहित्य २१औं शताब्दीसँगै अघि बढेको बताउँदै एक सय वर्ष पूरा भएसँगै नेपाली साहित्यले नयाँ फड्को मारिसकेको बताइन् । नेपाली साहित्य परम्परा र नेपाली साहित्यलाई विश्व साहित्यसँग जोड्ने समय आइसकेको भन्दै उनले नेपाली साहित्य अन्तर्राष्ट्रिय जगतमा पुर्याउन सकिने पनि बताइन् । ‘नेपाल लिटरेचल भेस्टिभलजस्ता उत्सवले पनि नेपाली साहित्यलाई विश्व साहित्यसँग जोड्न सघाउने छ,’ उनले भनिन् ।
कार्यक्रममा गायक धर्मेन्द्र सेवानले ‘रेशम फिरिरी’लगायत पाँच ओटा गीत गाएका थिए ।

No comments: