Thursday, January 13, 2022

अर्थतन्त्रका सूचकमा सुधार आएन

 मूल्यवृद्धि ७ प्रतिशतभन्दा माथि

रेमिट्यान्स आय घट्दो

शोधनान्तर घाटा बढ्ने क्रम जारी

विदेशी मुद्रा संचिती घट्ने क्रम जारी


चालु वर्षको पाँच महिनामा पनि अर्थतन्त्रका सूचकमा कुनै सुधार आएको छैन भने झन् त्यसमाथि यसअघि नियान्त्रणभित्रै रहेको बजार भाउ पनि बढ्ने क्रम तीव्र बनेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार मूल्य वृद्धिदर ७ प्रतिशतभन्दा माथि रहेको छ । राष्ट्र बैंकको मासिक प्रतिवेदनअनुसार वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ७.११ प्रतिशत रहेको छ । जुन अघिल्लो आर्थिक वर्षको मंसिरको तुलनामा ४.१८ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको पाँचौं महिनामा मूल्य वृद्धिदर २.९३ प्रतिशत रहेको थियो ।

सरकारले बजेटमा तथा राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा ६.५ प्रतिशतभित्रै राख्ने प्रक्षेपण गरेको मूल्यवृद्धि पाँचौं महिनामा नै उकालो लागेको छ । चालू आर्थिक वर्षमा सरकारलाई मूल्यवृद्धि काबुमा राख्न समस्या पर्ने केही दिन अगाडि राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले संसदीय समितिमा बताएका थिए ।

राष्ट्र बैंकले बिहीबार जारी गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पाँचौं महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.६७ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ८.२५ प्रतिशत रहेको छ । २०७७ मंसिरको तुलनामा २०७८ मंसिरमा घ्यू तथा तेल, यातायात, दाल तथा गेडागुडी, शिक्षा र सुर्तीजन्य वस्तु उपसमूहको मूल्यवृद्धि क्रमशः २८.५२ प्रतिशत, १६.२५ प्रतिशत, ११.७९ प्रतिशत, ११.७८ प्रतिशत र ११.७४ प्रतिशत रहेको छ ।

मंसिर महिनामा तराईमा सबैभन्दा बढी भाउ बढेको देखिन्छ । राष्ट्र बैंकका अनुसार काठमाडौं उपत्यकामा ५.९१ प्रतिशत, तराईमा ७.५२ प्रतिशत, पहाडमा ६.९५ प्रतिशत र हिमालमा ४.९१ प्रतिशत मुद्रास्फीति रहेको छ । जबकि २०७७ मंसिरमा यी क्षेत्रहरुमा क्रमशः ३.७१ प्रतिशत, २.३५ प्रतिशत, ३.९५ प्रतिशत र ४.२२ प्रतिशत मुद्रास्फीति रहेको थियो ।

तर, २०७८ मंसिरमा वार्षिक बिन्दुगत तलब तथा ज्यालादर सूचकांक भने बढेको छ । मंसिरमा वार्षिक बिन्दुगत तलब तथा ज्यालादर सूचकांक ६.५३ प्रतिशतले बढेको भन्दै राष्ट्र बैंकले अघिल्लो वर्षको सोही महिनामा उक्त सूचकांक ०.९९ प्रतिशतले बढेको जनाएको छ । चालु आवको पाँचौं महिनामा तलब सूचकांक र ज्यालादर सूचकांक क्रमशः ९.४४ प्रतिशत र ५.७१ प्रतिशतले बढेको छ ।

यसका साथै लगातार घटिरहेको रेमिट्यान्स आय पनि चालु आर्थिक वर्षको पाँच महिनामा पनि सुधार आउन सकेन । राष्ट्र बैंकका अनुसार पाँच महिना रेमिट्यान्स आय ६.८ प्रतिशतले कमी आई ३ खर्ब ८८ अर्ब ५८ करोडमा झरेको छ । गत वर्षको मंसिरमा रेमिट्यान्स आय अघिल्लो वर्षको सोही अवधिमा ११ प्रतिशतले बढेको थियो ।

तर, मंसिरसम्ममा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या भने उल्लेख्य रुपमा वृद्धि भई १ लाख ३१ हजार ८२ पुगेको छ । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या २९५.८ प्रतिशतले वृद्धि भई ९९ हजार ५८० पुगेको छ भने अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७७.३ प्रतिशतले घटेको थियो । मंसिरसम्ममा खुद ट्रान्सफर ५.७ प्रतिशतले कमी आई ४ खर्ब ३३ अर्ब ९२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ८.५ प्रतिशतले बढेको थियो ।

यसका साथै अर्थतन्त्रको अर्को महत्वपूर्ण सूचक शोधनान्तर घाटा चुलिँदै गएको छ । राष्ट्र बैंकका अनुसार मंसिरसम्ममा शोधनान्तर घाटा एक खर्ब ९५ अर्ब १ करोड पुगेको छ । चालु आर्थिक वर्षको सुरुदेखि नै शोधनान्तर घाटा बढिरहेको छ । साउनमै ३८ अर्ब ७५ करोड शोधनान्तर घाटा थियो भने भदौमा ८३ अर्ब ४१ करोड पुगेको थियो । तर, असोजमा शोधनान्तर घाटा केही घटेर ७६ अर्ब १४ करोडमा झरेको थियो । फेरि कात्तिकमा एक खर्ब ५० अर्ब ३८ करोड पुगेको शोधनान्तर घाटा मंसिरमा एक खर्ब ९५ अर्ब एक करोड पुगेको छ ।

यसरी शोधनान्तर घाटा लगातार बढ्दा चालु खाता घाटामा पनि दबाब पुगेको छ । कात्तिकमा २ खर्ब २३ अर्ब १९ करोड रहेको चालु खाता घाटा मंसिरमा ३ खर्ब ६९ करोड रुपैयाँमा पुगेको राष्ट्र बैंकले जनाएको छ । समग्रमा अर्थतन्त्रका सूचकहरु सुधार हुन नसकेका कारण अर्थतन्त्रमा समस्या आउने देखिन्छ । बुधबार विश्व बैंकले पनि चालू आर्थिक वर्षमा आर्थिक बृद्धिदरमा संकुचन आई ३.७ प्रतिशत रहने प्रक्षेपण गरेको छ ।

यसका साथै, विदेशी मुद्रा सञ्चिति पनि घट्ने क्रम जारी छ । चालु आर्थिक वर्षको चौथो महिनामा ७.२ महिनाको वस्तु तथा आयात धान्न पुग्ने देखिएको विदेशी मुद्राको सञ्चिति पाँचौ महिनामा आइपुग्दा घटेर ६.८ महिनाको वस्तु तथा आयातमात्रै धान्न अवस्थामा झरेको राष्ट्र बैंकले जनाएको छ ।

आर्थिक वर्ष २०७८-०७९ को पाँच महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय संचिती ७.५ महिनाको वस्तु आयात र ६.८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ, राष्ट्र बैकले जनायो । २०७८ असार मसान्तमा १३ खर्ब ९९ अर्ब ३ करोड बराबर रहेको कुल विदेशी विनिमय संचिती घटेर मंसिर मसान्तमा १२ खर्ब १४ अर्ब ३ करोड भएको हो ।

No comments: