Saturday, February 20, 2016

लगानी र रोजगारी चिन्तक

आफैं अर्थशास्त्री नभए पनि उनलाई देश विकासको लागि पहिला ठूलो लगानी चाहिन्छ भन्ने थाहा थियो। ठूलो लगानी र रोजगारी सिर्जना भयो भनेमात्र देशले आर्थिक विकासमा काँचुली फेर्न सक्छ भन्ने मान्यता राख्ने पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति सुशील कोइरालाकोे २० महिने कार्यकालमा उनकै सक्रिय नेतृत्वमा संविधानसभामार्फत संविधान जारी भएको मात्र धेरैले सम्झन्छन्। नेपाली जनताले आफैंले संविधान बनाउन गरेको ६५ वर्षदेखिको संघर्षको प्रतिफलस्वरुप जारी भएका संविधानको कारण उनलाई सम्झनु स्वाभाविक पनि हो।तर, संविधान आएरमात्र हुन्न, जनताले त्यसको प्रतिफल पाउनुपर्छ भन्ने उनको सोच रहेको राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष गोविन्द पोखरेल बताउँछन्। राष्ट्रिय योजना आयोगका अध्यक्ष प्रधानमन्त्री हुने प्रचलन अनुसार कोइराला पोखरेलका अध्यक्ष थिए।

धेरैले सरल जीवनशैली तथा प्रजातन्त्रप्रतिको एकोहोरो लगावका कारण कोइरालालाई सम्भि्कन्छन्। तर पोखरेलका अनुसार कोइरालाको व्यक्तित्वको अर्को महŒवपूर्ण विकासप्रेमी पाटो भने संविधानको चर्चामा छायाँमा पर्योा।

'देशलाई फाइदा हुने र रोजगारी सिर्जना हुने ठूला आयोजना बन्नुपर्छ भन्ने उहाँको मान्यताअनुसार विगत २० वर्षदेखि झुन्डिएर रहेको भारतसँगको ऊर्जा विकास सम्झौता (पिटिए) उहाँकै प्रधानमन्त्रीत्वकालमा भयो,' पोखरेल भन्छन्।

कोइरालालाई निर्णय लिने नसक्ने नेताको रुपमा धेरैलै चित्रित गरे पनि देश विकासको लागि भने उनकै नेतृत्वमा दुई अर्ब अमेरिकी डलर लाग्ने ९०० मेगावाटको माथिल्लो कर्णाली र सोही आकारको अरुण ३ को आयोजना विकास सम्झौता भयो।

'कोइरालालाई उपचारको लागि अमेरिका जानु थियो,' पोखरेल सम्झन्छन्, 'तर, उहाँले माथिल्लो कर्णालीको आयोजना विकास सम्झौता (पिडिए) गरेर जाने भन्दै सिंहदरबारमा आफ्नै अगाडि पिडिएमा हस्ताक्षर भएपछि सिधै विमानस्थल गएर अमेरिका उड्नुभयो।' यसबाट पनि कोइरालाको विकासप्रतिको लगाव र गम्भीरता प्रस्ट हुने पोखरेलको भनाइ छ।

२० वर्षदेखि अल्भि्कएर रहेको ५,६०० मेगावाटको पञ्चेश्वर बहुद्देश्यीय आयोजनाको काम पनि उनकै कार्यकालमा फेरि अगाडि बढेको थियो।

विकासबारे सबैका आ–आफ्ना धारणा वा शैली हुन्छन्, कोइरालाको पनि आफ्नै सोच थियो। पोखरेलका अनुसार प्रत्येक भेटमा कोइरालालाई लगानीबारे जानकारी गराउनु पर्थ्यो। हरेक भेटमा कोइरालाको एउटै प्रश्न गर्थे– देशमा लगानी ल्याउन र रोजगारी सिर्जना गर्न के हुँदैछ?

यस्तै, देशलाई कृषिप्रधान भन्ने तर किसानको लागि सरकारले कुनै सहुलियत नदिँदा भारतीय कृषि उत्पादनसँग प्रतिस्पर्धा गर्न नसकेर कृषि पेसाबाट किसान पलायन भइरहेको सन्दर्भमा कोइरालालाई कृषकलाई भारतमा झैं बिनाब्याजको ऋण दिन सकिन्छ कि सकिन्न भन्ने चिन्ता थियो।

बजारमा पानी र दूधको भाउ बराबर भएकोले किसान मर्कामा छन् भन्ने कोइरालालाई थाहा थियो। पोखरेलका अनुसार कोइरालाकै प्रयासमा ६ प्रतिशत ब्याजमा कृषिऋण दिने नीति ल्याइएको हो। कोइराला त बिनाब्याज कृषि ऋण दिनुपर्छ भन्ने मान्यता राख्थे। पोखरेल भन्छन्, 'तर प्राविधिकरुपमा यस्तो सम्भव नभएको कर्मचारीतन्त्रले बताएपछि ६ प्रतिशत ब्याजमा दिइने भएको हो।'

त्यस्तै, कृषिलाई अगाडि बढाउन रासायनिक मल उद्योग स्थापना गर्नुपर्नेमा पनि उनको धेरै चासो थियो। उनकै अध्यक्षतामा बसेको लगानी बोर्डको बैठकले रासायनिक मल उद्योग स्थापनाको लागि अध्ययन गर्न अनुमति दिइसकेको छ।

कोइरालाकै कार्यकालमा नेपालमा ठूलाठूला वैदेशिक लगानीका सिमेन्ट उद्योगका लागि अर्बौं डलरको प्रतिबद्धता आएको पूर्वअर्थमन्त्री तथा नेपाली कांंग्रेसका रामशरण महत बताउँछन्। उनका अनुसार कोइराला औद्योगिक वातावरण निर्माण गरी देशमा ठूलो लगानी भिœयाउन नीतिगत सुधारका पनि सहयोगी थिए।

लगानी बोर्डमार्फत ठूला विदेशी लगानी (एफडिआई) ल्याएर प्रविधि हस्तान्तरणमार्फत देशको विकास गर्नुपर्छ भन्ने उनको मान्यता थियो। यसको लागि नीतिगत सुधार गर्नुपर्नेमा कोइरालाले आफूलाई पूरापूर साथ दिएको महतको भनाइ छ।

यस्तै, कोइरालाको प्रजातन्त्रप्रतिको अटल आस्थाका कारण नेपालका विकास साझेदारहरु पनि उनको कार्यकालमा नेपालमा प्रजातन्त्र र विकासको वातावरण बन्नेमा ढुक्क देखिन्थे। कोइराला कार्यकालको पहिलो आर्थिक वर्षमा नेपालले दुई खर्ब ७० अर्ब २० करोड बराबरको वैदेशिक सहायताको प्रतिबद्धता पाएको थियो। तर, दोस्रो आर्थिक वर्ष सुरु हुनु दुई महिनाअघि वैशाख १२ मा विनाशकारी भुइँचालो गइदियो।

प्रधानमन्त्रीको रुपमा कोइरालाको २० महिने कार्यकालको लगभग अन्तिममा गएको ठूलो भूकम्पले पनि कोइरालालाई अडानबाट हल्लाउन सकेन। कोइरालाकै सहज नेतृत्वको कारण नेपालले वैशाख १२ को भूकम्पपछिको क्षति आंकलन तथा त्यसकै आधारमा पुनर्निर्माणको लागि काठमाडौंमा अन्तर्राष्ट्रिय सम्मेलन गरेर विकास साझेदारबाट चार खर्बभन्दा बढीको प्रतिबद्धता प्राप्त गर्न सफल भएको महत सम्झन्छन्।

यस्तै, मितव्ययितामा पनि कोइराला उत्तिकै चासो राख्थे। संविधान आउला, स्थिरता होला, अनि राजदूत नियुक्त गरौंला भन्ने उनको सोच रहेको पोखरेल बताउँछन्। हाललाई भारत, अमेरिका, युरोप तथा चीनमा राजदूत भए पुग्छ, किन बढी खर्च गर्ने भन्ने उनको सोच अन्य प्रधानमन्त्रीको आफू नियुक्त हुनेबित्तिकै आफ्ना कार्यकर्ता भर्ना सुरु गरिहाल्ने प्रवृत्तिभन्दा फरक थियो। किनकि कोइराला फाल्तु खर्चलाई सकेसम्म निरुत्साहित गर्थे।

नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालका अनुसार बिपीको आर्थिक विचारबाट प्रभावित सुशीललाई आर्थिक कुरा बुझाउन निक्कै सजिलो थियो। गभर्नर नेपाल कोइराला प्रधानमन्त्री हुँदा उनका आर्थिक सल्लाहकार थिए।

यसरी निजी क्षेत्रलाई माया गर्ने र खुला बजार अर्थतन्त्रले नै देशको विकास गर्न सकिन्छ भन्ने मान्यता राख्ने कोइराला व्यक्तिको आर्थिक स्वतन्त्रताका पक्षपाती थिए। नेपालका अनुसार कोइराला व्यक्तिलाई पैसा कमाउन दिनुपर्छ भन्ने मान्यता राख्थे। कोइराला व्यक्तिले काम गरेर पैसा कमाएर रोजगारी सिर्जना गरोस्, राज्यलाई कर तिरोस् भन्ने मान्यता राख्थे।

कसैले नयाँ लगानीका कुरा गरे उनको पहिलो प्रश्न 'कतिजनाले रोजगारी पाउँछ' भन्ने हुन्थ्यो।

आफूले बोकेको विचार र जीवनशैलीमा ठूलो विरोधाभाष रहेको समूहले देश विकासलाई नै पहिलो प्राथमिकता मान्ने कोइरालाजस्ता स्वच्छ छविका देशभक्त नेतालाई मर्ने बेलामा विभिन्न आरोप पनि लगाए पनि प्रजातन्त्र, खुला बजार र आर्थिक स्वतन्त्रताप्रति कोइरालाको निष्ठा युगयुगसम्म अमर रहने पोखरेल बताउँंछन्।

साम्यवाद स्थापनाको लागि सर्वहाराको नाममा जीवनभर लडेका नेताको जीवनशैली सत्ताको केन्द्र वरिपरि पुग्नासाथ कुनै जमिनदार वा खानदानी राजशाही भन्दा फरक छैन। नेपालका वामपन्थी भनिने नेताकै जीवनशैली उनीहरुले आक्षेप लगाउने पुँजीपतिको भन्दा कम छैन। तर, कोइरालाले आफ्नो सबै सम्पत्ति पार्टीलाई दान गरेरमात्र चित्त बुझाएनन् जीवनभर प्रजातन्त्र मात्र सोचे।

उनको जीवनशैली अनुकरण गर्न सक्ने नेता नेपालले फेरि नपाउन सक्छ। कोइराला महिलाको सामाजिक सुरक्षा तथा विकासबारे पनि चिन्तित थिए। उनले आफ्नो प्रधानमन्त्रीत्वकालमा तराईका २० जिल्लाका मधेसी, जनजाति, पिछडिएका महिलाको लागि नेपाली कांग्रेसका पुराना नेता रामनारायण मिश्रको नाममा छात्रवृत्ति स्थापना गरे।

तैपनि कोइलालाका धेरै राम्रा काम छायाँमा पर्योम। आफैंले संविधान लेख्ने नेपाली जनताको ६५ वर्ष पुरानो सपना पूरा गर्दा कोइरालाका अरु राम्रा कामलाई गौण ठानियो। कामै नगरी प्रचारवाजी गर्ने कार्यशैलीप्रति सादगीका पर्याय कोइरालाले कहिल्यै विश्वास गरेनन्।

No comments: