Showing posts with label AML-CFT. Show all posts
Showing posts with label AML-CFT. Show all posts

Thursday, October 13, 2022

नेपाल फेरि कालोसूचीमा पर्ने जोखिम : मूल्यांकन प्रतिवेदन तयार गर्न एपीजीको टोली काठमाडौंमा

नेपाल फेरि पनि अन्तर्राष्ट्रिय सम्पत्ति शुद्धीकरणको कालोसूचीमा पर्ने जोखिम बढेको छ । सरकारले समयमा नै ऐन संशोधन गर्न नसक्दा नेपाल वित्तीय कारबाही कार्यदल (एफएटीएफ)को कालोसूचीमा पर्ने जोखिम बढेको हो ।

गत असारमा सुरु भएको नेपालको सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी मूल्यांकन प्रतिवेदन तयार गर्न एफएटीएफ अन्तर्गतको एसिया प्रशान्त समूह (एपीजी)को टोली काठमाडौंमा छ । टोलीले बिहीबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय अन्तर्गत सम्पती शुद्धीकरण हेर्ने निकायसँग छलफल समेत गरेको छ । सरकारले एपीजीको मूल्यांकनभन्दा अगाडि नै सम्पत्ति शुद्धीकरण निवारण ऐन अध्यादेशमार्फत भए पनि संशोधन गर्न नसके अन्तर्राष्ट्रिय सम्पत्ति शुद्धीकरणको कालोसूचीमा पर्ने भएको हो ।

सरकारले सम्पत्ति शुद्धीकरण निवारण गर्न भन्दै केही नेपाल ऐनमा संशोधन गर्दै नयाँ ऐन जारी गर्ने तयारी गरेको थियो । तर, प्रतिनिधिसभाबाट परित भएको उक्त विधेयक राष्ट्रियसभा अन्तगर्तको संसदीय समितिमा अड्किएको छ । हाल संसद्का दुवै सदन चुनावका कारण बन्द छ । 

एफएटीएफको सम्पत्ति शुद्धीकरणसम्बन्धी मूल्यांकन एपीजीको कालोसूचीमा प¥यो भने नेपालमा वैदशिक ऋण आउन रोकिनुका साथै विश्वका १ सय ७० वटा देशमा एलसीसमेत खोल्न नपाउने अवस्था बन्न सक्ने जानकारहरु बताउँछन् । कालोसूचीमा समावेश भए नेपालको पासपोर्टमाथि विशेष निगरानी हुने र नेपालीहरुको वैदेशिक गतिविधि नै रोकिन समेत सक्ने छ ।

नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर चीरञ्जीवि नेपालले सम्पत्ति शुद्धीकरणका विषयमा नेपाल अप्ठ्यारो स्थितिमा रहेको बताए । उनले सम्पत्ति शुद्धीकरण एवं आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण गर्न नेपाल सरकारले बनाएका कानुनहरु संशोधन नहँुँदा एफएटीएफको मूल्यांकनमा कालोसूचीमा पर्ने खतरा बढेको बताए । सरकार सम्पत्ति शुद्धीकरणजस्तो संवेदजशिल विषयमा गम्भिर नदेखिएको पनि उनको गुनासो छ ।

त्यस्तै, पूर्व कानुन तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले पनि सम्पत्ति शुद्धीकरण निवारण ऐन संशोधन नभए एफएटीएफको कालोसूचीमा पर्नसक्ने सम्भावना रहेको भन्दै नेपाल अहिले पनि कालो धनलाई सेतो बनाउने अर्थात् अवैधानिक रुपमा कमाएको धनलाई वैधानिक बनाउनसक्ने मुलुकमा परेको दाबी गरे । उनले उक्त ऐन स्वार्थ समूहको सिकार भएको पनि जानकारी दिए । 

सम्पत्ति शुद्धीकरण निवारण प्रणाली सुधार नभएको भन्दै नेपाल सन् २००९ देखि २०१४ सम्म कालोसूचीमा परेको थियो । एफएटीएफको टोलीले कर छलीलाई सम्पत्ति शुद्धीकरणसँग अनिवार्य जोड्दै आतंकवादी कार्य, भ्रष्टाचार र लागू औषधलाई विशेष ध्यान दिने गरी मापदण्ड तयार गरेको छ भने कोरोना कालपछि भर्चुअल करेन्सीलाई नयाँ अपराधका आयामको रुपमा हेरेको छ । सरकारी अधिकारीहरुका अनुसार नयाँ मापदण्डअनुसार नेपालले अझै कानुनमा ४० प्रतिशत समेट्न बाँकी छ । हाल संसद् नभएको अवस्थामा अब सरकारले तत्काल अध्यादेशमार्फत भए पनि सम्पत्ति शुद्धीकरणसम्बन्धी ऐन नियमहरु संशोधन गर्न जरुरी रहेको छ । अन्तर्राष्ट्रिय समुदायले गरेको एक अध्ययनअनुसार नेपालजस्ता अति कम विकसित मुलुकमा कुल गार्हस्थ्य उत्पादन (जीडिपी) को ७ देखि ८ प्रतिशतसम्म कालो धन हुने गरेको छ ।

सम्पत्ति शुद्धीकरण निवारण विरुद्धमा नेपालले अन्तर्राष्ट्रिय समुदायसँग गरेको प्रतिवद्धता अनुसारको प्रगति नभएका कारण नेपाल कालोसूचीमा पर्ने जोखिम बढेको हो । स्रोत नखुलेको सम्पत्तिलाई कानुनी दायरामा ल्याउने र त्यस्ता घटना निगरानी गर्ने निकाय कमजोर हुँदा नेपाल सम्पत्ति शुद्धीकरणमा कालोसूचीमा पर्ने जोखिम बढेको उच्च अधिकारीहरुको धारणा छ ।

Wednesday, August 31, 2022

नेपाल कालोसूचीमा पर्ने जोखिम कायमै : सम्पत्ति शुद्धीकरण निवारणमा प्रगति कमजोर

सम्पत्ति शुद्धीकरण निवारण विरुद्धमा नेपालले अन्तर्राष्ट्रिय समुदायसँग गरेको प्रतिवद्धता अनुसारको प्रगति नभएको कारण नेपाल फेरि कालोसूचीमा पर्ने जोखिम बढेको छ ।

स्रोत नखुलेको सम्पत्तिलाई कानूनी दायरामा ल्याउने र त्यस्ता घटना निगरानी गर्ने निकाय कमजोर हुँदा नेपाल सम्पत्ति शुद्धीकरणमा कालोसूचीमा पर्ने जोखिम बढेको उच्च अधिकारीहरुको धारणा छ ।

नेपालले आफना अन्तराष्ट्रिय वाचाअनुरुप गर्नुपर्ने सुधारका कार्यहरुको प्रगति कमजोर तथा ढिलाइले सम्पत्ति शुद्धीकरणको मामिलामा विश्वभरका मुलुकलाई निगरानी राख्ने फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) र यसको क्षेत्रीय संस्था एसिया प्रशान्त समूह (एपीजी) को अडिट र मूल्यांकनमा असफल हुने जोखिम रहेको अधिकारीहरुको भनाइ छ । नेपाल एफएटीएफ अन्तर्गतको एपीजीको समूहमा पर्दछ । गत असार सुरु भएको नेपालको सम्पूर्ण हुन १८ महिना लाग्छ । मूल्यांकनकै क्रममा एपीजीको टोली नेपालको स्थलगत अनुगमनमा २६ असोजमा काठमाडौं आउँदै छ । 

पहिलो चरणको स्थलगत भ्रमणपछि एपीजीले नेपाललाई प्रतिवेदनको मस्यौदा दिनेछ । त्यसपछि अन्तिम चरणको मूल्यांकन गर्न अर्को टोली मंसिरमा आउने जनाइएको छ । उक्त टोलीले सम्पत्ति शुद्धीकरण निवारण विरुद्ध नेपालले प्रगति नगरेको रिपोर्टिङ गरेमा नेपाल कालोसूचीको पर्ने जोखिम हुन्छ । एफएटीएफको टोली आउँदा नेपालले सम्पत्ति शुद्धीकरणको जोखिम क्षेत्र पहिचान गरी त्यसविरुद्ध गरेको गतिविधि उल्लेख हुनेछ । यसरी विभिन्न चरणमा भएका मूल्यांकनको अन्तिम प्रतिवेदन भने २०८० वैशाखमा नेपालले प्राप्त गर्नेछ ।

विगतमा नेपालको कमजोर अवस्था देखिएको थियो । त्यसैले यसपटक पनि सम्पत्ति शुद्धीकरण नियमनसम्बन्धी कमजोर कानुन तथा भएका कानुनको पनि पालना नभएका कारण नेपाल कालोसूचीको जोखिममा रहेको बुधबार प्रतिनिधिसभाको अर्थ समितिमा आयोजित छलफलमा कानुन मन्त्रालयका सचिव उदयराज सापकोटाले बताए । सम्पती शुद्धिकरणको विषयमा राजनीतिज्ञ तथा व्यवसायीलगायत नयाँ सोचमा जान नसकेको तथा परम्परागत सोचबाट नै अगाडि बढेको उनको भनाइ थियो । उनले सम्पती शुद्धिकरणको विषयमा अनुसन्धान गर्ने कर्मचारी नै डराउने गरेको पनि बताए । सचिव सापकोटाले नेपालमा क्यास अर्थतन्त्रबाट प्लाष्टिक अर्थतन्त्रमा नगएसम्म गाह्रो हुने  तथा अन्तराष्ट्रियरुपमा नै सम्पती शुद्धीकरण निवारणसम्बन्धि कानून विगतको भन्दा कडा आउने पनि बताए ।

यस्तै, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका कानुन सचिव धनराज ज्ञवालीले सम्पत्ति पनि सम्पत्ति शुद्धीकरणको नियमनको पाटोमा नेपाल कमजोर रहेको स्विकारे । उनले एफएटीएफ टोलीले प्राविधिक पक्ष र प्रभावकारिता पक्षको मूल्याङ्कन गर्ने भएकोले कानुन निर्माणसहित प्रभावकारी कार्यान्वयनमा पनि त्यत्तिकै ध्यान दिनुपर्ने बताए । त्यसैले सम्पती शुद्धिकरणको लागि सरकारले नेपाल ऐनमा चार वटा ऐन संशोधन गर्न लागेको छ, उनले भने, सम्पती शुद्धिकरण ऐनमा ४० वटा कसुरमा अनुसन्धान गर्ने निकायहरु फरक भएकाले तालमेल हुन नसकेका कारण ऐन संशोधन गर्न लागेको हो ।

उनले भ्रष्टाचारमा मुद्दा चलाएर अख्तियार अनुसन्धानले भ्रष्टाचार गरेको ठहर गरेर बिगो जरिवाना गरेपनि उसले भ्रष्टाचारजन्य सम्पती लगेर व्यापार व्यवसायमा लगानीको अनुसन्धान सम्पती शुद्धिकरण विभागले हुनुपर्ने अवस्थाको अन्त्य गर्नु पर्ने भन्दै सम्पती सम्वद्ध कसुरमा जुन निकायले अनुसन्धान गरेपनि सम्पती शुद्धिकरण अनुसन्धान त्यही बेला गर्नेगरी कानून परिर्माजन गर्न लागेको बताए । विश्वमा सम्पती शुद्धिकरणको ठाउँ भनेको क्यासिनो मानिने भएकाले नेपालको पर्यटन ऐन संशोधन गरि क्यासिनोको सञ्चालनको लागि लाइसेन्स लिने व्यवस्था परिर्वतन गर्ने पनि बताए । हुण्डी कारोबार सबैभन्दा जोखिमको क्षेत्र रहेको भन्दै उनले अपराध संहितमा नै संशोधन गरेर हुण्डीलाई अपराध सरह फौजदारी कसुर बनाएर लैजानेगरी ऐनमा संशोधन गर्न खोजेको पनि उनले जानकारी दिए । साथै, घरजग्गा कारोबारलाई पनि परम्परागत किन्ने र बेच्नेको सहमति भन्दा पनि रियल स्टेट कम्पनीमार्फत कारोबार गर्नुपर्ने कानूनी व्यवस्था गर्न लागेको बताए । 

समितिमा बोल्दै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सम्पत्ति शुद्धीकरणका गतिविधिले मुलुकबाहिर समेत देशको छवि धुमिल हुन जाने तथा सन् २००९ देखि सन् २०१४ सम्म नेपाल कालोसूचीमा परे झैं अवस्था फेरि आउन सक्ने तर्फ सचेत गराए । त्यसबेला अमेरिकामा रहेको नेपालको बैंक खाता रोक्का भएको स्मरण गर्दै उनले सम्पती शुद्धिकरण तथा वित्तीय अपराधसम्बन्धि जोखिम अन्तर्राष्ट्रिय मुलुकलाई देखाउने भन्दा पनि आन्तरिक रुपमा सुधार गर्नुपर्ने बताए । सन् २००९ देखि २०१४ सम्म नेपाल अनुगमनमा परेका बेला संयुक्त राज्य अमेरिकास्थित नेपाली राजदुतावासको बैंक खाता खोल्न नाम चलेका अमेरिकी बैंकहरूले अस्वीकार गरेका थिए ।

नेपालमा भ्रष्टाचार र हुण्डी कारोबारको जोखिममा रहेको भन्दै सम्पती शुद्धिकरणको समस्या क्षणिक नभएर दीर्घकालिन रुपमा सरकारले  निराकरण गर्नुपर्ने उनले बताए ।  

नेपालमा सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी १५० भन्दा बढी कानुन र कानुनी व्यवस्थाहरु छन् । प्रत्यक्ष रूपमा ९ वटा नीतिगत र समन्वयकारी निकायले सम्पत्ति शुद्धीकरण निवारणमा काम गर्छन् । तर, ८५ हजार वटा रिपोर्टिङको दायित्व बोकेका संस्थाहरु भए तापनि सम्पत्ति शुद्धीकरण निवारणको मूल्यांकनमा नेपालको अवस्था कमजोर छ । 


जोखिमका क्षेत्र

  • सहकारी, सेयर बजार, घर जग्गा, क्यासिनो, विदेशी विनिमय कारोबार हुने क्षेत्र, विप्रेषण सेवा प्रदायक, हुण्डी र रियल स्टेट,
  • बैंकिङ, सहकारी, क्यासिनो र बहुमुल्य धातु तथा पत्थरको कारोबार हुने क्षेत्र,
  • बीमा, पुँजी बजार, लेखा व्यवसाय र गैरनाफा मुलक संस्थाहरु, 
  • बहुमुल्य धातु तथा पत्थर व्यवसाय गर्ने क्षेत्र