Tuesday, July 26, 2022

प्रतिमतदाता खर्च २८४ रुपैयाँ

 यसअघिका निर्वाचनमा प्रतिमतदाता ५ सय रुपैयाँको हाराहारीमा खर्च भएकोमा स्थानीय तह निर्वाचन २०७९ मा एक मतदाताबराबर २ सय ८४ रुपैयाँ खर्च भएको छ ।

निर्वाचन आयोगले गत ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनमा कुल मतदाता १ करोड ७७ लाख ३३ हजार ७२३ रहेको र जम्मा ५ अर्ब ४ करोड ३ लाख ९२ हजार ८६७ रुपैयाँ खर्च भएको मंगलबार जनाएको हो । मंगलबार पत्रकार सम्मेलन गरी स्थानीय तहको निर्वाचनको जानकारी दिँदै आयोगले यसअघि भएका निर्वाचनका तुलनामा निकै मितव्ययी खर्च भएको दाबी पनि गरेको छ । साथै, निर्वाचनमा प्रतिमतदान केन्द्र खर्च २ लाख २९ हजार ५७८ भएको हुनाले स्थानीय तह सदस्य निर्वाचन २०७९ पछिल्ला निर्वाचनहरूको तुलनामा सबैभन्दा मितव्ययी निर्वाचन हुन गएको आयोगको भनाइ छ ।

निर्वाचन आयोगले ५ अर्ब ४ करोड, ३ लाख ९२ हजार ८ सय ७६ रुपैयाँ खर्च गरेको र सरकारलाई ३ अर्ब ६ करोड, ९६ लाख ७ हजार १ सय २४ रुपैयाँ फिर्ता पठाएको पनि पत्रकार सम्मेलनमा जानकारी दिएको छ । खर्च व्यवस्थापनतर्फ नेपाल सरकारबाट निकासा भएको रकम ८ अर्ब ११ करोडमध्ये आयोगको सचिवालयबाट १ अर्ब २ करोड ६३ लाख १२ हजार १२९ खर्च, मुख्य/निर्वाचन अधिकृतको ७५३ कार्यालयबाट ३ अर्ब ५४ करोड १२ लाख ७३ हजार ६१७ खर्च, ७७ निर्वाचन कार्यालयबाट ४१ करोड ३३ लाख ७ हजार १३० खर्च, गृह मन्त्रालयमार्फत मतपेटिका ढुवानीमा ४ करोड ५० लाख खर्च, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमार्फत १ करोड ४५ लाख खर्च गरी कुल ५ अर्ब ४ करोड ३ लाख ९२ हजार ८७६ खर्च गरेर सरकारलाई ३ अर्ब ६ करोड ९६ लाख ७ हजार १२४ फिर्ता गरिएको आयोगको दाबी छ ।

स्थानीय तह सदस्य निर्वाचन, २०७९ मा भएको कुल खर्चमध्ये २०.३६ प्रतिशत आयोगको सचिवालयबाट भएको छ भने बाँकी रकम विकेन्द्रीकृत ढंगले विभिन्न मन्त्रालय र अन्य कार्यालयबाट खर्च भएको आयोगले जनाएको छ । यसैगरी, संविधानसभा निर्वाचन २०७० मा आन्तरिक र बाह्य स्रोत गरी ५ अर्ब ९८ करोड ८९ लाख ९५ हजार ८० खर्च भएकोमा प्रतिमतदान केन्द्र खर्च ३ लाख १८ हजार ९८८ भएको थियो । जसमा प्रतिमतदाता खर्च ४९३ पर्न गएको पनि आयोगले जनाएको छ । यसैगरी, स्थानीय तह निर्वाचन २०७४ मा आन्तरिक र बाह्य स्रोत गरी जम्मा ७ अर्ब १५ करोड ७७ लाख १९ हजार ९६२ खर्च हुँदा प्रतिमतदान केन्द्र खर्च ३ लाख ८५ हजार ३८३ र प्रति मतदाता खर्च ५०९ भएको आयोगको भनाइ छ ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन २०७४ मा आन्तरिक स्रोतबाट ७ अर्ब ८० करोड १४ लाख ४९ हजार १२१ खर्च भएको थियो भने बाह्य स्रोतबाट प्राविधिक र व्यवस्थापकीय सहयोग मात्र लिइएको पनि आयोगले जनाएको छ । उक्त निर्वाचनमा प्रतिमतदान केन्द्र खर्च ३ लाख ९३ हजार ८३४ भएकोमा प्रतिमतदाता खर्च ५०६ भएको आयोगले जनाएको छ ।

निर्वाचन परिणाम तथा खर्च सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले स्थानीय निर्वाचन २०७९ मा पुरुष मतदाता ८९ लाख ९२ हजार १० र महिला मतदाता ८७ लाख ८१ हजार ५३० रहेको बताए । उनले स्थानीय तहको निर्वाचनमा कुल उम्मेदवार १ लाख ४५ हजार १३ रहेकोमा पुरुष ८९ हजार ३१४ र ५५ हजार ६९९ महिला उम्मेदवार रहेको पनि बताए । निर्विरोध निर्वाचित ३९० जनाका साथै निर्वाचित पुरुष २० हजार ६३० र निर्वाचित महिला १४ हजार ४६६ रहेको पनि उनले जानकारी दिए ।

प्रवक्ता पौडेलका अनुसार स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसले १३७ पुरुष र ४ महिला गरी १४१ प्रमुख पद जितेको छ । नेपाली कांग्रेसले प्रमुख पदमा २२ लाख ७९ हजार ३६३ प्राप्त मत गरेको छ । त्यस्तै उपप्रमुखमा नेपाली कांग्रेसले २२ पुरुष, ८८ महिला गरी जम्मा ११० सिट जितेको छ । जसमा प्राप्त मत १५ लाख १५ हजार ३९८ रहेको प्रवक्ता शर्माले बताए । त्यस्तै नेपाली कांग्रेसले अध्यक्ष १८८ र उपाध्यक्ष १९० जितेको छ ।

त्यस्तै, नेकपा एमालेले ७७ पुरुष ६ महिला ८३ सिट प्रमुखमा जितेको छ । प्रमुख पदमा प्राप्त मत २३ लाख ४८ हजार ७०९ रहेको छ भने उपप्रमुखमा ११ पुरुष, १०४ महिला गरी ११५ सिटमा विजयी भएको छ । उपप्रमुखमा २२ लाख ७० हजार ३२४ प्राप्त मत गरेको छ भने अध्यक्षमा १२३ र १२६ सिट उपाध्यक्षमा जितेको छ । त्यस्तै नेकपा (माओवादी केन्द्र) ले २४ पुरुष १ महिला गरी २५ प्रमुखमा जित हात पारेको छ ।

प्रवक्ता पौडेलका अनुसार प्रमुखमा माओवादी केन्द्रले ६ लाख २७ हजार ६९३ मत प्राप्त गरेको छ । उपप्रमुखमा १८ पुरुष १५ महिला गरी ३३ सिट जित्दा मत ९ लाख ४९ हजार ८५८ पाएको छ भने अध्यक्ष ९६ र उपाध्यक्ष ९५ ठाउँमा पाएको छ । त्यस्तै जनता समाजवादी पार्टी नेपालले प्रमुखमा ९ सिट प्राप्त गरेको छ । जसमा सबै पुरुष छन् ।

त्यस्तै नेकपा (एकीकृत समाजवादी) ले ११ पुरुष १ महिला गरी प्रमुखमा १२ सिट जितेको छ । नेकपा (एकीकृत समाजवादी) को प्रमुख पदमा आएको मत ३ लाख १८ हजार २६० रहेको छ भने उपप्रमुखमा ४ पुरुष, ७ महिला गरी ११ सिट जितेको छ, जसको प्राप्त मत ३ लाख ८८ हजार २०५ रहेको छ । एकीकृत समाजवादीले अध्यक्ष ८ ठाउँमा र उपाध्यक्ष १२ स्थानमा जितेको छ । स्थानीय तहमा प्रतिनिधित्व गर्ने दलको संख्या २४ रहेको पनि निर्वाचन आयोगले जनाएको छ ।


खर्च नबुझाउनेलाई कारबाही

प्रमुख निर्वाचन आयुक्त थपलियाले नेपालको निर्वाचन इतिहासमा खर्च नबुझाउनेहरुलाई ठूलो कारबाही गर्ने चेतावनी दिए । उनले १ लाख ५६ हजार उम्मेदवार रहेको र करिब १ लाख जना कारबाहीको भागिदार बन्न सक्ने पनि बताए । उनले भने, “नेपालको निर्वाचन इतिहासमा खर्च नबुझाउनेहरुको ठूलो कारबाहीको समाचार सुन्नुहुन्छ । यो संख्या यकिन भन्न गाह्रो छ तर १ लाख जना कारबाहीको दायरामा आउँछन् भन्ने अनुमान छ ।” (कारोबार)

No comments: