Friday, October 14, 2022

आयात प्रतिबन्ध दुई महिना लम्बियो

अब व्यवसाय बन्द गरेर चुप लागेर बस्छौंः नाडा 

विदेशी मुद्राको सञ्चितिमा दबाब परेपछि सरकारले लगाउँदै आएको आयात प्रतिबन्ध थप २ महिना लम्ब्याएको छ । सरकारले गत वैशाख १४ गतेदेखि लगाएको आयात प्रतिबन्ध थप दुई महिना लम्ब्याएर मंसिर मसान्तसम्म पु¥याएको हो । 

असोज २८ गते बसेको मन्त्रिपरिषद् बैठकले पूर्ण प्रतिबन्ध लगाइएका चार प्रकारका वस्तुको पैठारीमा लगाएको बन्देजलाई आगामी मंसिर मसान्तसम्म कायम गर्ने निर्णय गरेको सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । उनले भने, “सरकारले आयातमा पूर्ण प्रतिबन्ध लगाइएका मदिरा, ३ सय अमेरिकी डलरभन्दा बढी मूल्यका स्मार्टफोन, सबै प्रकारका पेट्रोलियमबाट चल्ने कार, १५० सीसीभन्दा माथिका मोटरसाइकलको आयात रोकिएको छ ।” यसअघि सरकारले थप सीमा तोकेर असार मसान्तसम्मका र पछि थप गरेर भदौ १४ हुँदै थप असोज २८ सम्म कायम गरिएको थियो । 

सरकारले विदेशी मुद्रा सञ्चिति नाजुक अवस्थामा पुग्न लागेको भन्दै पेट्रोलियमबाट चल्ने सबै कार र २५० सीसीभन्दा बढी इन्जिन क्षमताका मोटरसाइकलको आयातमा प्रतिबन्ध लगायो । पछि यसलाई १५० सीसीमा सीमित गरिएको थियो। वैशाख १३ गतेदेखि असार मसान्तसम्म लगाइएको प्रतिबन्धलाई असार ३१ मा पुनः राजपत्रमा सूचना प्रकाशित गरेर भदौ १४ सम्म पु¥याइएको थियो । उक्त निर्णयलाई पुनः असोज २८ सम्म लम्ब्याउने निर्णय सरकारले गरेको थियो भने अझ २ महिना थप गरेर उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको रोहवरमा आयातमाथिको प्रतिबन्ध आगामी मंसिर मसान्तसम्म कायम गरेको हो । सरकारले वैशाख १४ बाट लगाउँदै आएको आयात प्रतिबन्धको सीमा हटाउन नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले माग गर्दै आएको थियो । सरकारले भने २८ असोजसम्म विदेशी मुद्राको सञ्चितिमा सुधार नभएको जनाउँदै आयातको प्रतिबन्ध थप दुई महिना लम्ब्याउन भनेको छ । नेपाल राष्ट्र बैंकका अनुसार २०७९ असार मसान्तमा कुल विदेशी विनिमय सञ्चिति १.५ प्रतिशतले कमी आएको थियो । २०७९ साउन मसान्तमा ११ खर्ब ९७ अर्ब ८५ करोड कायम रहेको जनाएको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७९ असार मसान्तमा ९ अर्ब ५४ करोड रहेकोमा २०७९ साउन मसान्तमा १.२ प्रतिशतले कमी आई ९ अर्ब ४२ करोड कायम भएको राष्ट्र बंैकले भनेको छ । सरकारले अत्यावश्यक वस्तुको आयातमा प्रतिबन्ध लगाएर सरकारले प्राप्त गर्ने राजस्व गुमाइरहेको नाडाका अध्यक्ष ध्रुव थापाले  बताए । उनले भने, “सरकारले लगाउँदै आएको प्रतिबन्ध हटाउनु पर्नेमा थप गरेर अटोमोबाइल व्यवसाय नै धरापमा पारेको छ ।”

लामो समयदेखिको आयात प्रतिबन्धका कारण अटोमोबाइल व्यवसाय धरापमा परेको बताउँदै थापाले सरकार गम्भिर नरहेको बताएका छन् । केही व्यवसाय बन्द गरेर अन्य विकल्पका व्यवसायमा व्यवसायी लागेको अध्यक्ष थापाको भनाइ छ ।

अध्यक्ष थापाले भने, “नेपालको बढ्दो व्यापार घाटा र शोधनान्तर घाटामा यसको अंश अत्यन्त सानो भए पनि योगदान धेरै हो । कार, जिप र भ्यानजस्ता निजी प्रयोजनका सवारीसाधनहरुको आयातमा लागेको प्रतिबन्ध फुकाउनका लागि सरकारसँग माग गर्दै आएको थियो । अब चुप लागेर  व्यापार–व्यवसाय बन्द गरेर बस्छौं । सरकारले जहिले खुलाउँछ, खुलाओस् ।” सरकारले स्वदेशमा उत्पादन हुने मदिराको कच्चा पदार्थ र एम्बुलेन्स र शववाहनको आयातमा भने प्रतिबन्ध लगाएको छैन । 

No comments: