Tuesday, November 1, 2022

नयाँ स्टक एक्सचेन्ज थप्ने प्रक्रिया स्थगित

नेपाल धितोपत्र बोर्डले सर्वोच्च अदालतको अल्पकालिन अन्तरिम आदेशपछि सुरु गरेको ब्रोकर र स्टक थप गर्ने प्रक्रिया तत्कालका लागि स्थगित गरेको छ । सर्वोच्चको आदेशअनुसार बोर्डले तत्कालका लागि लाइसेन्स प्रक्रिया स्थागित गरेको जनाएको छ । 

बोर्डले आवेदन माग गरेको मंगलबार अन्तिम दिनमा प्रक्रिया स्थगित गरेको हो । बोर्डले धितोपत्र ब्रोकरका लागि ३० दिन र स्टक एकस्चेन्जका लागि ४५ दिन समय दिएको थियो । बोर्डले ब्रोकरका लागि दिएको ३० दिनको समय असोज ३१ गतेभित्र ४५ नयाँ कम्पनीले धितोपत्र दलाल कम्पनीको लाइसेन्सका लागि बोर्डमा आवेदन दिएका थिए ।

सर्वोच्च अदालतले ४ कात्तिकमा न्यायाधिश तिलप्रसाद श्रेष्ठको एकल इजलासले नयाँ स्टक एक्सचेन्ज र ब्रोकर थप गर्ने प्रक्रियाविरुद्ध परेको रिटमा सुनुवाइ गर्दै तत्काल प्रक्रिया रोक्ने र दुवै पक्षको छलफलपछि मात्र उपयुक्त निर्णय लिने गरी अल्पकालिन अन्तरिम आदेश दिएको थियो । 

चुनावअगाडि आर्थिक चलखेल गर्न बोर्डले नियमावली संशोधन गरेर लाइसेन्स दिन सुरु गरेको आरोपमा अधिवक्ता दीपकविक्रम मिश्रले रिट दायर गरेका थिए । संशोधित नियमावलीको कार्यान्वयन तत्काल रोकिनुपर्ने भन्दै अदालत पुगेका मिश्रले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज लिमिटेडलाई प्रतिवादी बनाउँदै १ कात्तिकमा सर्वोच्चमा रिट दायर गरेका थिए ।

बोर्डले सोही आदेशको पालना गर्दै मंगलबार लाइसेन्स प्रक्रिया रोकेको जनाएको छ । धितोपत्र बोर्डले धितोपत्र बजार सञ्चालन नियमावली २०६४ र धितोपत्र व्यवसायी नियमावली २०६४ संशोधन गरी नयाँ लाइसेन्स दिने प्रक्रिया सुरु गरेको थियो । त्यसका लागि धितोपत्र बोर्डले गत असोज २ गते आवेदन मागेको थियो ।

No comments: