Tuesday, August 11, 2020

नेपाल विकास नहुनुका कारण ‘कबाल्स एण्ड कार्टेल्स’

पत्रकारिताबाट आफनो करियर सुरु गरेका तर आफनो जीवनको उर्जावान समय विकास साझेदारको संगतमा बिताएका राजीव उपाध्यायले बिहीवार एक कार्यक्रमकाबीच आफनो पहिलो पुस्तक ‘कबाल्स एण्ड कार्टेल्स्’ सार्वजनिक गरे ।

दुई दशकभन्दा लामो समय विश्व बैंकमा काम गर्दा नेपालका राजनीतिज्ञ र कर्मचारीतन्त्रलाई गहिरोसँग अवलोकन गरेका, पुस्तकका अनुसार केहिसंग त अलि बढि नै संगत गरेका, उपाध्यायले पुस्तकमा उक्त कालखण्डको वर्णनमात्र गरेका छैनन, अपितु सचित्र वर्णन गरेका छन ।

फाइनप्रिन्टद्वारा प्रकाशन गरिएको २८२ पृष्ठको अंग्रेजी भाषाको पुस्तकले नेपालको पछिल्लो तीन दशकको वर्णन मात्र गर्दैन, नेपाल किन विकास भएन भन्ने विषयमा बिना पाण्डित्याई सहजै बुझन मद्दत पनि गर्दछ ।

पुस्तकबारे टिप्पणी गर्दै अर्थशास्त्री विश्व पौडेलले उपाध्यायको पुस्तकले नेपालमा बहुदलीय राजतन्त्र, माओवादीको सशस्त्र द्वन्द्वदेखि गणतन्त्रसम्म आइपुग्दाको परिवर्तनलाई सूक्ष्म रुपमा प्रस्तुत गरेको बताए ।

पौडेलका अनुसार कुनै पनि देशमा लोकतन्त्रको आयु त्यस देशको प्रतिब्यक्ति आयदरले निर्धारण गर्दछ । विभिन्न अध्ययनका अनुसार एक हजार अमेरिकी डलरभन्दा कम प्रतिब्यक्ति आय भएका मुलुकमा लोकतन्त्रको आयु १२ वर्षभन्दा कम रहन्छ, उनले भने, ‘यस हिसाबमा मध्यम वर्गको विकास नै लोकतन्त्र दिर्घायुको मापन हो ।’

तर, वितेका दुई शताब्दीदेखि नै नेपालमा उत्पादनको साधनलाई सीमित व्यक्तिले कब्जा गरेको भन्दै उनले क्षमतावान व्यक्ति नहुँदा नेपालको विकास प्रकृयाले गति नसमातेको र विकास साझेदारका कार्यक्रमले समेत प्रभावकारी काम गर्न नसकेको बताए ।

उक्त अवसरमा वुमेन लिडकी कार्यकारी निर्देशक हिमा विष्टले पुस्तक नेपालको राजनीतिक एवं आर्थिक परिवर्तनको दस्तावेज बन्ने भन्दै बितेका तीन दशकको नेपालको अर्थराजनीति र विकास प्रकृयालाई चिहाउने आँखिझ्याल भएको बताइन । नेपाल आउने विदेशीहरुलाई नेपालका बारेमा बुझ्न सघाउने पुस्तक कुन दिऊँ भनेर सधैं दोधार हुने गरेकोमा उपाध्यायको पुस्तकले त्यो दोधार हटाइदिएको दाबी गर्दै उनले विदेशी मात्र नभई नेपाललाई बुझ्न चाहने जोकसैले यो पुस्तक अध्ययन गर्नुपर्ने पनि बताइन ।

यस्तै, कार्यक्रमका मध्यस्तकर्ता एवं अर्का टिप्पणीकार वरिष्ठ पत्रकार किशोर नेपालले नेपालबारे जान्ने उपयुक्त माध्यम उक्त पुस्तक रहेको भन्दै उपाध्यायको पुस्तक समकालीन नेपालको जीवन्त तस्वीर रहेको पनि बताए । विश्व बैंकमा काम गर्दा उपाध्यायले देखेको समाज एवं देश परिवर्तनमा प्रतिष्ठित व्यक्तिहरुको केकस्तो भूमिका थियो भन्ने विषयबारे पुस्तकले प्रष्ट पारेको भन्दै नेपालले पुस्तकले सरल र सहज ढङ्गले नेपालको अर्थराजनीति बुझाएको पनि बताए ।

विमोचन कार्यक्रममा आफना कुरा राख्दै लेखक उपाध्यायले अध्ययन र अनुभवको आधारमा पुस्तक तयार पारेको बताए । नेपालको राजनीतिक अस्थिरता, खिचातानी आदिबारे पाठकलाई बुझाउनु आफनो उद्देश्य रहेको भन्दै उनले पञ्चायतकालदेखि गणतन्त्रसम्म, भूकम्पदेखि अन्य महामारीको साक्षी बन्न पाउनु, अनुभव जुटाउने मौका पाएको वर्तमान पुस्ताले देश परिवर्तनका लागि भने उल्लेख्य केही गर्न नसकेको बताउँदै आफूले देखेको भोगेको आधारमा देशको राजनीतिक भागबन्डा आदिले देशलाई कसरी थिलथिलो बनाएको छ यसैले पुस्तक लेख्न पेरित गरेको बताए ।

यो पुस्ताले धेरै संघर्ष गरेको र परिवर्तन पनि आएको भएतापनि परिवर्तनलाई प्रगतिमा रुपान्तरण गर्ने कुरामा भने नराम्ररी चुकेको बताउन उनले छुटाएनन । विश्वका विकसित देशहरुले त्यस्तो के जादुटुना गरे जसको हामीलाई मेसो नै भएन, उनले भने ।

उपाध्यायले राजनीतिज्ञ र बिचौलिया बीचको अनुचित सम्बन्धले देशको अवस्थामा पारेको असर बारे चित्रण पुस्तकमा गरेको जानकारी पनि दिए । उनले पुस्तकको शिर्षक ‘कबाल्स’ यहुदी शब्द रहको तथा १७ औँ शताब्दीतिर षडयन्त्रकारी, गुप्तचरी सीमित वर्गको शासकको वर्णन गर्दा यो शब्दलाई पर्यायको रुपमा प्रयोग गरिने गरिएको भन्दै ‘कार्टेल्स’ को अर्थ सिन्डिकेटसँग मिल्दो जुल्दो रहको पनि बताए ।

लोकतन्त्रको सवलीकरण र आर्थिक विकासको प्रयासलाई अलग्याएर बुझ्न खोज्नु व्यर्थको अभ्यास हुँने आफनो अनुभव रहेको पनि उनले बताए । ‘आजभोलि विचौलिया वर्गको राजनीतिक पहुँच कहाँसम्म पुगिसक्यो र उनीहरुले संरक्षण कसरी पाउँछन, जरा कहाँसम्म फैलिसकेको छ र यसले कुन हदसम्म नाघिसक्यो भन्ने कुरा पुस्तकमा उल्लेख छ,’ उपाध्यायले भने, ‘हाम्रो पुस्ताले राजनीतिलाई साध्य कहिले ठानेन, साधनको रुपमा प्रयोग गरिरह्यो ।’

‘राजनीतिक अभ्यासलाई जनहित लोक कल्याणकारी विकासको बाटोमा नहिँडाउदा वा नचाहँदा वितृष्णा, आन्दोलन र परिवर्तन अनि दुष्चक्रमा हामी बारम्बार फसिरह्यौँ,’ उनले थपे, ‘दुई चार पुस्ता परिवर्तन हुँदा पनि राजनीतिक पात्र जुगजुगसँग परिवर्तन नहुने अनि आफूलाई लोकतान्त्रिक पनि भन्ने नेपालमा बाहेक विश्वका अन्य देशमा छ जस्तो मलाई लाग्दैन ।’

‘कबाल्स एण्ड कार्टेल्स’ पुस्तक नेपालको राजनीति र व्यवसायबीचको अन्तरसम्बन्ध, अर्थात भूमिगत गिरोह र यीनको मिलेमतोमा राज्यशक्तिलाई नियन्त्रण गर्ने अभ्यासमार्फत राज्य श्रोतको दोहन, आर्थिक सुधार, माओवादी द्धन्द्धकाल र संक्रमणकाल, विकास प्रकृया, तथा विकास साझेदारको नेपालपतिको दृष्टिकोणका बारेमा जान्न चाहनेका लागि अत्यन्त उपयोगी छ ।

No comments: