Wednesday, November 1, 2017

नेपाल दक्षिण एसियामा तेस्रो व्यवसायमैत्री देश


दक्षिण एसियामा नेपाल तेस्रो सहज व्यावसायिक वातावरण भएको देश बनेको छ । व्यवसाय गर्ने वातावरणमा सुधार गर्दे गएपछि यस क्षेत्रमा भुटान तथा भारतपछि नेपाल तेस्रो व्यवसायमैत्री मुलुक भएको विश्व बैंकको प्रतिवेदनले देखाएको हो ।

सन् २०१८ का लागि बैकद्वारा मंगलबार प्रकाशित ‘डुङइ बिजनेस’ प्रतिवेदनअनुसार अघिल्लो वर्षभन्दा २ स्थान सुधार गरेर नेपाल १०५ औं स्थानमा उक्लिएको छ । यसअघि गत वर्ष सन् २०१७ को लागि प्रकाशित प्रतिवेदनले नेपालको स्थान १ सय ७ मा रहेको देखाएको थियो । नेपालले आफ्नो स्थानमात्र सुधारेको नभइ दक्षिण एसियामा नै तेस्रो सहज व्यावसायिक वातावरण भएको देश बन्न पुगेको हो । विश्वका १ सय ९० देशको अर्थतन्त्रलाई समेटेर तयार पारिएको प्रतिवेदनले नेपालले १ सय अंकमा ५९.९५ अंक पाएको जनाउँदै नेपालको अवस्था सुधारोन्मुख रहेको देखाएको हो ।

दक्षिण एसियामा नेपालभन्दा अगाडि भारतले आफ्नो अवस्थामा सुधार गरेर गत वर्षको १ सय ३० स्थानबाट फड्को मारेर यस वर्ष १ सयौं स्थानमा उक्लेको छ भने ७५ औं स्थानमा रहेको भुटान दक्षिण एसियाकै सबैभन्दा राम्रो व्यावसायिक वातावरण भएको देश बनेको छ ।

भारतले ‘डुङइ बिजनेस’का १० सूचकमा ८ वटामा सुधार गरेको भन्दै विश्व बैकले भारतमा व्यवसाय सुरु गर्न, निर्माणसम्बन्धी कार्यको अनुमति, कर्जा प्राप्ति, विद्युत् प्राप्ति, साना लगानीकर्ताको संरक्षण, कर भुक्तानी प्रक्रिया, वैदेशिक व्यापार, कामदारसम्बन्धी सम्झौता र समस्याग्रस्त संस्थाको व्यवस्थामा सुधार आएको जनाएको छ ।

यस्तै, प्रतिवेदनमा श्रीलंका १११ औं स्थानमा छ भने माल्दिभ्स १३६ औं, पाकिस्तान १४७ औं, बंगलादेश १७७ औं र अफगानिस्तान १८३ औं स्थानका रहेको पनि उल्लेख छ । नेपालमा पछिल्ला वर्षमा चल सम्पत्तिको धितोमा पनि कर्जा दिन सकिने व्यवस्थासहितको सुरक्षित कारोबार प्रणालीको कार्यान्वयन, संस्थागत पारदर्शीताको कायम गर्दै साना लगानीकर्ताको संरक्षणमा सुधार भएकोले व्यावसायिक वातावरण सुधार भएको प्रतिवेदनले उल्लेख गरेको छ ।

यस्तै, नेपालले १० वटा सूचकमध्ये साना लगानीकर्ताको संरक्षणमा सबैभन्दा राम्रो स्थान (६२), वैदेशिक व्यापारमा सहजता (७६), समस्याग्रस्त संस्थाको व्यवस्थापनमा (७६) तथा सम्पत्ति दर्तामा (८४) अंक प्राप्त गरेर राम्रो स्थान प्राप्त गरेको छ । सोही कारण नेपालले आफ्नो स्थान गत वर्षभन्दा २ स्थान माथि उकाल्न सफल भएको प्रतिवेदनले जनाएको छ । तर, नेपालले सुधार गर्न नसकेका केही क्षेत्रहरू जस्तै, निर्माण अनुमतिसम्बन्धी प्रक्रियाहरू लामो हुँदै गएको तथा यसमा समय बढी लाग्ने गरेकाले सुधारको अझै आवश्यकता रहेको औंल्याइएको छ ।

प्रतिवेदनले न्यूजिल्यान्ड पहिलो, सिंगापुर दोस्रो, डेनमार्क तेस्रो, दक्षिण कोरिया चौथो तथा चीनको हङकङ क्षेत्र पाँचौं स्थानमा रहेको पनि जनाएको छ । प्रतिवर्ष विश्व बैंकले निकाल्ने यसै प्रतिवेदनको आधारमा संसारका धेरै लगानीकर्ताले आफ्नो लगानी विस्तार जस्ता निर्णय गर्ने पनि बैंकले जनाएको छ । यस्तै, वल्र्ड इकोनोमिक फोरमद्वारा यसअघि सार्वजनिक विश्वको प्रतिस्पर्धी क्षमता २०१७ का अनुसार नेपाल गत वर्षभन्दा सूचकांकमा १० तह माथि उक्लेर ८८ औं नम्बरमा परे पनि दक्षिण एसियामा भने चौथो स्थानमा नै रहेको छ । विश्वको प्रतिस्पर्धी क्षमता २०१५ मा नेपाल दक्षिण एसियाको तेस्रो प्रतिस्पर्धी अर्थतन्त्र रहेको थियो ।

वल्र्ड इकोनोमिक फोरमले १ सय ३७ देशमा गरेको अध्ययनअनुसार विश्वव्यापी प्रतिस्पर्धी मुलुकको सूचीमा नेपाल ८८ औं नम्बरमा परेको थियो । तर, दक्षिण एसियाली मुलुकमा भने नेपाल चौंथो नम्बरमा छ । अध्ययन प्रतिवेदनमा दक्षिण एसियाका ६ मुलुकलाई समावेश गरिएकामा नेपाल बंगलादेश र पाकिस्तानभन्दा अगाडि छ । भारत ४०, भुटान ८२ र श्रीलंका ८५ औं नम्बरमा छन् ।


No comments: