Tuesday, October 6, 2026

समाजवाद फालेर उदारवाद अँगाल्ने मौका गुमाएको कांग्रेस २.०

समाजवादको नाममा पछिल्लो एक दशकमा वामपन्थीहरूले नेपालमा जसरी आसोपासे पुँजीवादलाई प्रोत्साहन गरे, त्यसबाट शिक्षा लिँदै नेपाली कांग्रेसले स्वतन्त्र, निष्पक्ष र प्रतिस्पर्धात्मक बजार अर्थतन्त्रलाई अँगाल्ने आशा धेरैले गरेका थिए। तर यस पटक मुलुकको पुरानो राजनीतिक दलले उनीहरूलाई निराश बनाएको छ।
व्यवहारमा जे जस्तो भए पनि नेपाली कांग्रेसले आफूलाई प्रजातान्त्रिक समाजवादी भन्दै आएको छ। व्यवहारमा सर्वसाधारणले कांग्रेस र वामपन्थीहरूमा कुनै फरकपनाको महसुस गर्न नपाएको गुनासो थियो। राजनीतिक दलमाथि नागरिकको बढ्दो अविश्वासको एउटा प्रमुख कारण, व्यवहार र सिद्धान्तमा आकाशपातालको फरक पनि हो।
वामपन्थी दलहरूबाट यस विषयमा कुनै आशा नभएका कारण पनि यसपटक नेपाली कांग्रेसलाई आफ्नो १५औँ महाधिवेशनमार्फत आफ्नो दलको व्यवहार र सिद्धान्तलाई समायोजन गर्ने अवसर थियो। अर्थात्, यसका दुई कारण छन्। पहिलो, कमसेकम नेपाली कांग्रेस २.० नाममा ब्रान्डिङ गरेर भए पनि विशेष अधिवेशनमार्फत् यो पार्टीले आफूलाई रूपान्तरण तथा पुस्तान्तरणको चेष्टा गरेको थियो।
दोस्रो, नेपाली कांग्रेस २.० ले चुनावमा कसैसँग मिल्दैनौँ भन्ने दाबी गर्दै आएको छ। नेपाली कांग्रेस २.० का सभापति गगन थापाले नै यो मुद्दा बोकेर हिँडेका कारण पनि यसको अर्थ आफूलाई वामपन्थीभन्दा फरक हौँ र वामपन्थीहरूसँग मिलेर चुनाव लड्दैनौँ भनेको बुझ्नुपर्छ। नेपालमा पछिल्ला तीन दशकमा सत्तामा पौठाजोरी खेले पनि वा मिले पनि, कांग्रेसको विरोधी वा प्रतिद्वन्द्वी भने पनि वा सहयात्री भने पनि नेकपा एमाले वा नेपाली कम्युनिस्ट पार्टी (पुरानो नेकपा माओवादी) अर्थात् सोलोडोलो भाषामा वामपन्थी पार्टी नै थिए। जोसँग नेपाली कांग्रेस १.० का सभापति शेरबहादुर देउवाले पटक पटक मिलेका कारण गगनको विरोध थियो। हुन त नेपालमा राजावादी वा हालको सत्ताधारी राष्ट्रिय स्वतन्त्र पार्टी पनि छन्। तर, उनीहरूसँग नेपाली कांग्रेस २.० ले चुनावी गठबन्धन गरिहाल्ला भन्ने आकलन अहिल्यै गरिहाल्न सकिन्न।
त्यसैले सैद्धान्तिक-वैचारिक रूपमै नेपाली कांग्रेसले समाजवादबाट सिधै पुँजीवादमा फड्को नहाने पनि जसरी आफ्नो ‘राष्ट्रियता, प्रजातन्त्र र समाजवाद’को मूल सिद्धान्तबाट आज ‘राष्ट्रियता, लोकतन्त्र र समाजवाद’मा पुग्यो, हाल जारी १५औँ महाधिवेशनबाट आर्थिक नीतिमा अझै स्पष्टता ल्याउला भन्ने आशा थियो।
किनकि सभापति गगन थापाले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनले पनि स्विकारेको छ, ‘नेपाली कांग्रेसको आर्थिक दृष्टिकोणको मूल आधार राष्ट्रियता, लोकतन्त्र र समाजवाद हो। पार्टीका संस्थापक जननायक बीपी कोइरालाले प्रतिपादन गर्नुभएको लोकतान्त्रिक समाजवादले विकासको केन्द्रमा केवल तथ्यांकीय आर्थिक वृद्धिलाई होइन; साधारण नागरिकको जीवन, मानवीय गरिमा, सहभागिता र अवसरलाई केन्द्रमा राखेको थियो। हामीले बीपीको ‘हलो जोतिरहेको किसान’को ऐतिहासिक प्रतीकलाई आत्मसात गर्दै आज ‘हातमा पासपोर्ट बोकेर उभिएको वा देशभित्रै अवसर खोजिरहेको युवा’को यथार्थलाई आर्थिक विकास नीतिको केन्द्रबिन्दुमा राखेका छौँ।’
यसरी हिजो बीपी कोइरालाको समय र आजको आर्थिक परिदृश्य, बजार र बजारको चरित्र, निजी क्षेत्रको भूमिकाको साथै सरकारको पनि भूमिकामा स्पष्ट आकाश पताल फरक मान्ने हो भने हिजोकै लोकतान्त्रिक समाजवादको पुच्छर समातेर बस्नुमा कुनै तुक छैन।
होइन, लेख्न चाहिँ समाजवाद नै लेख्ने तर व्यवहारमा भने वामपन्थीले झैँ आसेपासे पुँजीवादलाई अँगाल्ने हो भने अर्कै कुरा हो। यसबाट त झन् नेपाली कांग्रेस २.० अघिल्लो संस्करणभन्दा पनि विवादित र नागरिकबाट परित्यक्त नहोला र?
समाजवादको अर्थबारे प्रतिवेदनले जति फरक व्याख्या गरे पनि नेपाली कांग्रेस २.० ले यो एउटा अवसर गुमाएकै हो। किनकि नेपालमा समाजवाद शब्द आफैँमा बदनाम छ। समाजवादी नेताहरूका रहनसहन, घर, सम्पत्ति देख्दा जिब्रो नटोक्ने नेपाली कोही छैन। तर, यसको अर्थ सम्पत्ति कमाउनु अपराध हो भन्ने नलागोस्। यसै पनि नेपाली समाजमा व्यापार, व्यवसाय गरेर नाफा गर्नु, धन, सम्पत्ति जोड्नु अपराध तर राजनीति गरेर बिना कुनै औपचारिक आय धन, सम्पत्ति जोड्नु महानता मानिन्छ। नेपाली कांग्रेस २.० ले  कुन वर्गको पक्षपोषण गर्न खोजेको हो, आफैँ स्पष्ट भएको देखिएन।
कतै पुँजीवादी हो कि जस्तो अनि कतै समाजवादी जस्तो देखिएर समाजमा रहेका उदारवादी वाम बुद्धिजीवीलाई आकर्षण त गर्न सकिएला। तर अर्थतन्त्रलाई चलायमान बनाउन यस्तो ढुलमुले नीति लिएर हुँदैन।
यसबाट त २०४८ सालपछिको नेपाली कांग्रेसको नेतृत्वमा चलेको उदार आर्थिक नीतिको पूर्ण स्वामित्व तथा अपनत्व पनि नेपाली कांग्रेस २.० ले नलिएको देखियो। अनि सिद्धान्त र व्यवहार यसरी नै फरक गर्ने विचार हो भने समाजवादको व्याख्या गर्न आवश्यक नै थिएन। दस्तावेजमा समाजवाद नै लेखिरहने अनि, जपिरहेन तर व्यवहारमा जे मन लाग्यो त्यही गर्ने भए त एकपटक पूर्वअर्थमन्त्रीद्वय महेश आचार्य र डा रामशरण महतलाई पनि धन्यवाद दिएको भए हुन्थ्यो।
वामपन्थीले मात्र होइन नेपाली कांग्रेसले पनि सधैँ सरापेका उनीहरूकै आर्थिक नीतिका कारण एक दशक लामो माओवादी द्वन्द्वमा पनि नेपाल टाट पल्टेन भनेर अडान लिन सक्ने कोही पनि आज नेपाली कांग्रेसमा नहुनुले नेपाली कांग्रेसको वामपन्थीकरण झन् तीव्र हुन थालेको भन्दा फरक नपर्ला। आचार्य र डा महतका कमीकमजोरी छैन, सबै ठीक गरे भनेको होइन। उदार आर्थिक नीतिको व्यावहारिक प्रयोगमा उनीहरूका पनि प्रक्रियागत कमजोरी थिए। जसलाई सच्याएर अगाडि बढ्ने अवसर पनि थियो। तर, समाजवादको नाम लिएरै मात्र नेपाली कांग्रेसले वैतरणी पार गर्छ वा समाजवादको गायत्री मन्त्र जपेपछि मात्र निर्वाण प्राप्त हुन्छ भन्ने चेतले आफ्नै पार्टीको नेतृत्वमा प्राप्त उपलब्धि पनि औचित्यहीन बनाएको छ।
आज जुन निजी क्षेत्रको विस्तार छ र जति पनि देशभित्रै रोजगारी सिर्जना भएको छ, त्यसको श्रेय लिन पनि डराउनेले नेपालमा रोजगारी सिर्जना गर्छन् भनेर युवाले कसरी पत्याउँछन्।
अनि, आज बीपी कोइराला भएका भए, के भन्थे होलान्?
त्यसैले, नेपाली कांग्रेसको वामपन्थीकरणमा जति शेरबहादुर देउवालाई दोष दिइन्छ वा दिइएको छ, त्यो भन्दा आजको रूपान्तरित वा पुस्तान्तरित कांग्रेसको पनि कम दोष छैन भन्दा अन्यथा नहोला।
यसबाट विशेष अधिवेशनमार्फत पार्टी कब्जा गरेको आरोप लागेका अनि १५औँ अधिवेशनमा प्रतिद्वन्द्वीविहीन रहेका सभापति गगन थापाको राजनीतिक, आर्थिक वैचारिक प्रतिबद्धतामा वामपन्थीकरणको गन्ध आएको आरोप पनि थपिन सक्छ। जुन नेपाली कांग्रेसको रूपान्तरणको मानक बन्नै सक्दैन।
बीपी कोइरालाको ऐतिहासिक दृष्टिकोण भूमि सुधार, निरक्षरता र ग्रामीण गरिबीले निर्देशित युगलाई प्रतिनिधित्व गर्ने ‘हलो जोत्ने किसान’ नेपालीमा केन्द्रित थियो। तर, त्यो उत्पादक थियो।
आजको नेपाली उपभोक्ता मात्र हो।
हिजो जमिन उत्पादनको स्रोत थियो। आज जमिन सिर्फ किनबेच गर्ने एउटा साधन हो। यसले कुनै उत्पादन गर्दैन, न त रोजगारी सिर्जना गर्छ। त्यसैले नेपाली अर्थतन्त्रमा रहेको संरचनात्मक समस्या समाधान गर्न समाजवादले सक्दैन। रोगको पहिचान ठीक भए पनि औषधि गलत भए रोग ठीक हुँदैन।
भलै, प्रतिवेदनमा लेखिएको छ, ‘राज्यले व्यापारी वा मालिकको रूपमा होइन, निष्पक्ष नियामक, सुशासनको संरक्षक, आधुनिक पूर्वाधारको निर्माणकर्ता र गुणस्तरीय सार्वजनिक सेवा प्रदायकको रूपमा काम गर्नुपर्छ।’ तर, विस्तारै राज्यको भूमिका खुम्च्याउँदै लाने र समयानुकूल नीति निर्माणमा मात्रै ध्यान दिने तथा बजारलाई अनुशासित रूपमा सञ्चालन गर्न अनुगमन गर्ने बाँकी बजारलाई छोड्ने हो। पछिल्ला वर्षहरूमा नेपालमा राज्य बलियो तर शासन कमजोर भएको कारण पनि धेरै समस्या आएको हो।
संस्थाहरू कमजोर बनाउने वा बनाउन सघाउने अनि समयानुकूल उदार आर्थिक नीति नअपनाएर समाजवादको व्याख्या गर्दै बस्दा नेपाली कांग्रेस रूपान्तरण हुँदैन।
अन्ततः सिद्धान्तको निरन्तरता तर औजारमा परिवर्तनले निजी क्षेत्रको लगानी, उत्पादकत्व र रोजगारी बढ्दैन। निजी क्षेत्रको लगानी, उत्पादकत्व र रोजगारीजस्ता शब्दहरू नेपालमा सबैभन्दा बढी दुरुपयोग भएका शब्दहरू हुन्। यी शब्दहरू सबै दलले कण्ठ गरेका छन्। तर, व्यवहारमा प्रतिबिम्बित गर्न भने सकेका छैनन्, सकेनन्।
नेपाली कांग्रेसले यदि साँच्चै निजी क्षेत्रले समृद्धि ल्याओस् भन्ने चाहेको हो भने आर्थिक विचारधारालाई वास्तविक रूपमा अद्यावधिक गर्नुपर्छ, परम्परागत समाजवादलाई नयाँ शब्दावलीले ढाकछोप गरेर वा व्याख्यात्मक टिप्पणी थप्दैमा परिवर्तन हुँदैन।
(First published in nepalkhabar.com on October 6, 2026 -- https://nepalkhabar.com/opinion/289087-2026-10-6-20-16-2)

No comments:

Post a Comment