Saturday, November 24, 2018

धर्म र कामको बीचमा शास्त्रीय द्वन्द्व छ

आफूलाई नेपालको ‘ज्वाइँ साहब’ को रुपमा परिचित गराउने गुरुचरण दास काठमाडौंमा बुकवर्म फाउन्डेसनको आयोजनामा हुन गइरहेको ‘आइएमई नेपाल लिटरेचर फेस्टिभल २०१८‘ को कर्टेन रेजर कार्यक्रममा शनिबार झुल्किए । उनले मानव जीवनका चार पुरुषार्थ मानिएका धर्म, अर्थ, काम, मोक्षमध्ये पहिलो दुइ विषयमा किताब लेखिसकेका छन् । आफनो पहिलो किताब ‘इन्डिया अनबाउन्ड’मा भौतिक समृद्धिको विषय उठान गरेका थिए भने दोस्रो किताब ‘द डिफिकल्टी अफ बिइङ गुड’मा ब्यक्ति तथा देशको धर्म तथा नैतिक जीवनको चर्चा गरेका दिए । पछिल्लो किताब ‘काम : द रिडल अफ डिजायर’मा कामनाको चर्चा गरेका छन् । उनै भारतीय लेखक तथा चिन्तक गुरुचरण दाससंग कारोबारका सम्पादक कुबेर चालिसेले शनिबार बिहान उनका पछिल्ला तथा नयाँ पुस्तकको बारेमा गरेको कुराकानीको सार :

‘काम: द रिडल अफ डिजायर’ पुस्तकमा के छ ?
यो पुस्तकले मानिसका चार पुरुषार्थ भनेर चिनिएका धर्म, अर्थ, काम: र मोक्षमध्ये काम:को बारेमा दार्शनिक तथा व्यवहारिक तहमा छलफल गर्दछ । चार पुरुषार्थ मानिएका यीमध्ये धेरै हदसम्म धर्म र काम:को बीचमा एक आपसमा सधै द्वन्द्व रहन्छ । मेरो कथाको पात्र अमरलाई पनि त्यहि हुन्छ । उसले आफ्नो सुखी वैवाहिक जीवनको लामो यात्रापछि थकित हुन्छ र एउटा यात्रामा निस्कन्छ । उ बम्बैदेखि पुणे जाने डेकन क्वीन चढेर कतै जाँदै हुन्छ । अमरले रेलमा एउटी सुन्दर महिला सहयात्री भेट्छ । दुवै सुखी विवाहित वयष्क हुन्छन् तर एउटा उमेरमा पुगेर उनीहरूमा चाहना हराएर जीवनमा केही नयाँ खोजिरहेका हुन्छन् । यात्राकै बीचमा विस्तारै उनीहरूमा सान्निध्यता हुन्छ । यसैक्रममा अमर विस्तारै महिला सहयात्रीसँग प्रेम गर्न थाल्छ । तर ऊभित्र धर्म र काम:को बीचमा द्वन्द्व सुरु हुन्छ । ‘यदि म यो महिलाको प्रेममा परे भने मेरी श्रीमतिलाई धोका हुन्छ, यो अधर्म हो’ उसको एउटा मनले सोच्छ, मैले आफ्नो इच्छा दबाउँदा म आफैंमाथि धोका हुन्छ, उसको अर्को मनले सोच्छ । तर आफनो मनको कामना दमित गर्दा अमर एउटा असन्तुष्ट, कर्कश तथा दुखी पुरुषकोरुपमा बाँकी जीवन बाँच्न बाध्य हुन्छ । मनको कामना पुरा गर्दा अधर्म हुने डर छ । यसरी अमरमार्फत् यो किताबले शास्त्रिय ढंगबाट धर्म र काम:को द्वन्द्वको वर्णन गर्दछ । यसमा अन्य धेरै उपकथा पनि छन् ।

हामी बाँचिरहेको समाजमा त परापूर्वकालदेखि नै धर्म र काम:को बीचमा द्वन्द्व छ नि हैन र ? यसको निदान के त ?
सही हो । वेद काल अझ महाभारतको कालखण्डसम्म पनि हाम्रो समाजले काम:लाई निषेध गरेको थिएन । महाभारतमा यस्ता धेरैे कथा छन्, तीमध्ये केही कथा यस पुस्तकमा छन् । हाम्रा मन्दिरहरू तथा ध्यान तथा पूजास्थलमा यसको अत्यन्त धेरै प्रयोग त्यसै बेला भएको हो । कामप्रति उदार वर्गको विरोधमा पछि समाजमा काम: प्रति अनुदार वर्ग पनि जन्मियो । र यी दुइ वर्गबिच द्वन्द्व सुरु भयो । यो द्वन्द्व एउटा यस्तो अवस्थामा पुग्यो जहाँ, काम: प्रति अनुदार वर्ग हावी भए संसार नचल्ने भएपछि काम: उदार तथा काम: अनुदारबिचमा एउटा मध्यमार्ग निकालियो जसले विवाहभित्रको काम:लाई स्विकार गर्यो । यसरी संसरको सृष्टि पनि चल्ने र अनुशासन पनि कायम हुने एउटा मध्य मार्ग निकालियो । त्यसैले धर्म र काम:को बीचमा सधै नै द्वन्द्व छ । कुन ठिक छ, यसको ठ्याक्कै कुनै उत्तर छैन । यसैलाई धर्म संकट पनि भन्न सकिन्छ ।

तर, अनुदार वर्ग पनि महिलाप्रति मात्रै किन अनुदार त ? 
किनकि पुरुष तथा महिलामध्ये महिला भाव प्रधान हुन्छन् । उनीहरू भावनाको तहमा धेरै शक्तिशालि हुन्छन् । र इमोशनल तहमा पूर्ण मानिसको जीवन नै पूर्ण हुन्छ । पुरुषलाई सधै डर रहन्छ कि उभन्दा महिला शक्तिशालि नहोस्, उसको भन्दा पूर्ण जीवन महिलाले नबाँचोस् । त्यसैले हाम्रो समाज महिलाप्रति अनुदार छ । तर, सधै यस्तो थिएन । महाभारत वा वैदिक कालमा महिलाको उच्च सम्मान थियो । तर हामीले हाम्रो सभ्यता तथा इतिहास बिर्सियौं । महाभारतमा भगस्पान राजाको कथा छ । उनी पुरुष भएर जन्मिए र पछि महिला हुने अवसर पनि पाए । उनी विद्धान तथा असल राजा भएकोले मर्ने बेलामा भगवान्ले उनलाई सोधे, अर्को जन्ममा के भएर जन्मिने ईच्छा छ । भगस्वान राजाले भने, म अर्कोजन्म महिला भएर जन्मन पाउँ । किनकि भावनाको तहमा महिला धेरै शक्तिशाली हुन्छन् र भावपूर्ण जीवन नै सम्पूर्ण जीवन हो । तर, पछिल्लो समय भारतमा पनि हिन्दुवादको चर्को नाराले प्रेम दिवस तथा अन्य समारोहमा गलत ब्याख्या सहित निषेध गर्न खोजेको छ । काम:को अर्थलाई विकृत बनाइएको छ । रोमियो स्क्वाडजस्ता दस्ताले भारतमा भ्यालेन्टाइन डेमा उत्पात मच्चाउँदै प्रेमी जोडिहरुलाई थुन्नु गलत भइरहेको छ । वास्तवमा भ्यालेन्टाइन डेलाई काम: उत्सवको रुपमा मनाउनु पर्दछ ।

यस्तो ऐतिहासिक रुपमा नै सुसंस्कृत हाम्रो समाजमा आज किन बलात्कारजस्तो निकृष्ट कार्य बढेर गएको छ त ? यसको समाधान के ? 
मैले एउटा लेख पनि लेखेको छु हाल चलिरहेको ‘मिटु‘ अभियानसँग जोडेर । हामीले हाम्रा छोराहरूलाई हुर्काउँदा असल शिक्षा दिन सकैनौं । वास्तवमा भ्यालेन्टाइन डेको दिन हामीले काम:उत्सव किन नमनाउने ? हामीले आफ्नो वैदिक वा महाभारतकालका शास्त्रीय तथा वैदिक संस्कार बिर्सियौंं । मनुले मनुस्मृति लेखेपछि मात्रै महिलालाई दबाउने कार्य भएको हो । हामीले हाम्रो पुरातन संस्कार बिर्सियौं । काम:लाई गलत तथा पाप भनेर दमित गर्न खोज्यौं । त्यसैको नतिजा हो आजको बलात्कार तथा महिला हिंसाग्रस्त समाज । हामीले आफ्नो समाजलाई उदार बनाउनुपर्छ किनकि वर्जित गरेपछि नै समाजमा दमित इच्छा तथा चाहना विकृत रुपमा देखा परेको हो । हिन्दु धर्मले इसाई धर्म झैं काम:लाई पाप वा एडम तथा इभको पापकृत्यद्वारा संसारको सृष्टि भएको मान्दैन । हिन्दु धर्मले त काम:लाई एउटा पुरुषार्थ र ईश्वरप्राप्त गर्ने साधन मान्दछ । हामीले हाम्रो सुसंस्कृत भूतकाललाई सम्झनु पर्यो, त्यस अनुसार आचरण गर्न शिक्षक तथा विद्यार्थी, मातापिता तथा छोराछोरीबिच काम:का राम्रा र नराम्रा विषयमा उदार ढंगले छलफल हुनु पर्यो । वर्जित गरेर निषेध गरेर नै समाजमा विकृती फैलिएको हो ।

यहाँले चार पुरुषार्थमध्ये धर्म, अर्थ तथा काम: तीनै विषयमा पुस्तक लेखिसक्नु भयो । अब अर्को पुस्तक मोक्षमाथि लेख्ने हो ?
(लामो हाँसो) मलाई थाहा छैन । मेरो पीताजी आश्रममा बस्नुहुन्थ्यो र दैनिक ४ घन्टा ध्यान गर्नुहुन्थ्यो । यो उहाँको विषय हो, उहाँले लेख्नुहुन्थ्यो होला । धर्म भनेको नैतिक स्वास्थ्य हो, त्यसैले मैले धर्ममाथि लेखें । अर्थ भनेको भौतिक सुखसुविधा हो र तेस्रो काम: भनेको भावनात्मक स्वास्थ्य हो । यी सबै एउटा स्वस्थ्य र भावपूर्ण जीवनको लागि आवश्यक छ । मोक्ष मेरो विषय होइन किनकि म उदार वातावरणमा हुर्कें । मैले हार्वर्डमा दर्शनशास्त्र पढें, अर्थशाश्त्र पढें । कुनै विषयमा लेख्न त्यसमाथि विश्वास पनि हुनुपर्दछ । म हरेक नयाँ विचारप्रति उदार छु, तर म धार्मिक होइन । म अब देशको आत्मकथा लेख्न चाहन्छु, भारतको आत्मकथा लेख्न चाहन्छु । जवाहरलाल नेहरुले डिस्कभरी अफ इन्डिया लेखे झैं म सोच्दै छु, रि डिस्कभरी अफ इन्डिया लेखौं । किनकि नेहरुले डिस्कभरी अफ इन्डिया लेखेको धेरै वर्ष भइ सक्यो अब नयाँ भारतको आत्मकथा लेख्न समय भै सकेको छ ।

भारतको आत्मकथा कहिलेसम्म लेख्नुहुन्छ त ?
मैले प्रत्येक पुस्तक ५ वर्षको अन्तरालमा लेखको छु । अर्थात् मलाई एउटा किताब लेख्न ५ वर्ष लाग्छ । ‘काम: द रिडल अफ डिजायर’ लेख्न पनि ५ वर्ष लाग्यो ।

No comments:

Post a Comment